साम्राज्यवादी हस्तक्षेपविरुद्ध वामपन्थीकाे संयुक्त मोर्चा जरुरी

२०८० जेष्ठ २५ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष सीले साम्राज्यवादीहरुको हस्तक्षेप विरुद्ध सम्पूर्ण वामपन्थी, देशभक्त र क्रान्तिकारी कम्युनिस्टहरुको संयुक्त मोर्चा जरुरी रहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी पूर्वी लुम्बिनी व्युरोले बुधबार बुटवलमा आयोजना गरेको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता
सन्तोष सीले सो कुरा बताएका हुन्। नेता सन्तोष सीले पार्टी एकताको उद्देश्य नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको बताउदै साम्राज्यवादीहरुको हस्तक्षेप विरुद्ध सम्पूर्ण वामपन्थी, देशभक्त र क्रान्तिकारी कम्युनिस्टहरुको संयुक्त मोर्चा जरुरी रहेको बताए ।
उनले आफ्नो पार्टी, नेकपा माओवादी समाजवादी र श्रमिक जनता पार्टीबीच पार्टी एकतापछि केन्द्रीय समितिको विशेष एकता बैठकपछि त्यसका निर्णयहरुलाई सम्प्रेषण गर्न प्रशिक्षणको आयोजना गरिएको बताए । उनले पार्टी एकताबारे चर्चा गर्दै क्रान्तिकारीहरुको एकता वस्तुगत परिस्थितिको उपज भएको बताए ।
नेकपा पोलिटब्युरो सदस्य एवं पूर्वी लुम्बिनी व्युरो इन्चार्ज बसन्त सीले साम्राज्यवादी हस्तक्षेप तीब्र भन्दै आएको भन्दै देशको स्वाधिनता रक्षाका लागी नयाँ राष्ट्रिय सुरक्षा नीति र नयाँ परराष्ट्र नीति जरुरी भएको बताए । पिबिएम एवं स्कूल विभागका प्रमुख भेषराज सीले पार्टी एकताको आधार मालेमावाद, वैज्ञानिक समाजवाद र एकीकृत जनक्रान्ति भएको बताए । पिविएम विनोद सीले क्रान्तिलाई गुणात्मक विकास गर्ने कार्यदिशा एकीकृत जनक्रान्ति भएको बताउदै एकता प्रक्रियामा सबै क्रान्तिकारी जोडिनुपर्ने बताए ।
उक्त प्रशिक्षण कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज शरद सी, केन्द्रीय सदस्य एवं नवलपुर इन्चार्ज कमल सीले स्वागत र केन्द्रीय सदस्य एवं पाल्पा इन्चार्ज धीरज सीले केन्द्रीय समितिले पारित गरेको दस्तावेज र सर्कुलर वाचन गरेका थिए । प्रशिक्षणमा नवलपुर इन्चार्ज सुमन सी, गुल्मी इन्चार्ज सुमन सी, पाल्पा सेक्रेटरी नेपाल सी,रुपन्देही सेक्रेटरी विरेन्द्र सी र नवलपरासी सेक्रेटरी प्रताप सीले जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए ।
उक्त राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा व्युरो अन्तर्गत गुल्मी, पाल्पा, रुपन्देही, नवलपरासी र नवलपुर जिल्लाहरुका पार्टी जिल्ला सदस्य, सल्लाहकार, केन्द्रीय प्रतिनिधि समिति सदस्य, सहिद एवं वेपत्ता परिवारको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]