समाजवादी मोर्चाको ध्येय राष्ट्र र जनताको हित:यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्र र जनताको हित गर्ने समाजवादी मोर्चाको ध्येय रहेको बताएका छन। सोमबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन्।
अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गरे । उनले ओलीप्रति संकेत गर्दै केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताए । यादवले परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढनका लागि मोर्चा गठन गरिएको बताए ।उनले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरुका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनी दिदै समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढनका लागि नै मोर्चा गठन गरिएको र त्यसमा सफलता हात पार्ने ठोकुवा गरे ।
अध्यक्ष यादवले आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने प्रयास भएको भन्दै त्यसकाविरुद्ध संघर्ष गर्न पनि सबैलाई तयार रहन र संविधानमा रहेका त्रुटी, कमीकमजोरीलाई सच्याउँदै लैजाने काममा पनि मोर्चाले काम गर्ने बताए ।
अध्यक्ष यादवले सबै समूदायका जनतालाई परिवर्तनको अनुभूति गराउन लागि सामूहिक प्रयास गर्न पनि समाजवादी मोर्चा उपयोगी हुने बताए ।