‘एमसीसीविरुद्धको महाअभियानमा गोलबन्द होऔ ‘

२०८० भाद्र २१ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्माले एमसीसीविरुद्धको महा-अभियानमा गोलबन्द हुन नागरिकलाई अपिल गरेका छन् । पाल्पामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो अपिल गरेका हुन्।
नेता विरहीले केही अमेरिकी दलालहरुले षड्यन्त्रपूर्ण तरिकाले नेपालमा सैन्य अखडा बनाउने खोजेको भन्दै प्रतिरोधात्मक संघर्षमा उत्रन आग्रह गरे । उनले ध्वनी मत भनेर संसदमा जबर्जस्ती हल्ला गरेर एमसीसी पास गरिएको बताए ।
नेता विरहीले संसदमा संसदीय स्वतन्त्रता हरण गरेर जबर्जस्ती एमसीसी पास गरिएको बताउदै पृथ्वीनारायण शाहको गीत गाएर अमेरिकी सैन्य अखडा विरुद्ध बोल्न नसक्नेहरु राष्ट्रवादी हुन नसक्ने बताए ।उनले अमेरिकाले सहयोगको नाममा आफ्नो सैन्य अखडा बनाउन कोशिस गरेको भन्दै यसप्रति सबै क्षेत्रबाट खबरदारी जरुरी रहेको बताए ।
नेता विरहीले विदेशी षड्यन्त्र र हस्तक्षेप बढ्दै गएको जटिल परिस्थितिले समाजवादी मोर्चा आवश्यकता परेको हो भन्दै देशका तमाम समस्या समाधान गर्न मोर्चा अझै बलियो बनाउँदै लैजानुपर्ने बताए ।
उनले जनयुद्धको प्राप्त उपलब्धीलाई संस्थागत गर्न नदिने षड्यन्त्र भइरहेको बताउँदै कम्युनिस्टहरुले सबैखाले मोर्चा खोलेर जानुपर्नेमा जोड दिए ।
नेता विरहीले जनताको तहमा सचेतना जगाउन आवश्यक रहेको बताउदै अमेरिकी सेनाले नेपाली महिलाहरू बलात्कार गर्ने र नेपालीहरुलाई गोलि ठोकेपछि मात्रै बुद्धि फिर्न भन्दा बेलैमा सचेत हुनुपर्ने कुरामा जोड दिए ।
नेता विरहीले भने- ‘अमेरिका सहयोग गर्ने होइन षड्यन्त्र गर्ने योजनामा छ यसको जुटेर भण्डाफोर जरुरी छ,कतिपयले यसलाई सहयोग हो भन्दै अपव्याख्या गरेका छन् यो गलत छ ।’
नेता विरहीले एमसीसीको विषयमा अमेरिकी अधिकारीहरु नै अस्पष्ट भएको बताउदै अमेरिकी सैन्य अखडाको मिसन नेपाली जनताको प्रतिरोधले असफल हुने ठोकुवा गरे ।
यसैगरी, सोही कार्यक्रममा बोल्दै वामपन्थी बुद्धिजीवी एवम् लेखक बिन बहादुर कुंवरले नेकपाले सञ्चालन गर्ने तयारी गरेको एमसीसी विरुद्धको मार्चपासमा सहभागी हुन सबैलाई अपिल समेत गरे । उनले नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले पेश गरेको अवधारणा पत्रमाथि टिप्पणी गर्दै कुंवरले राष्ट्र र राष्ट्रियता जोगाउन प्रतिरोध संघर्ष बढाउन आवश्यक रहेको समेत बताए । एमसीसी विरुद्धको अभियानलाई थप मजबुत बनाउन आवश्यक रहेको बताउदै कुंवरले यो मुद्दालाई जनस्तरमा जबर्जस्त स्थापित गराउदै बृहत् जनपरिचालन गरेर भएपनि रोक्नु पर्ने जिकिर गरे ।
अमेरिकी सैन्य अखडा नेपालमा बनाएर नेपाललाई राजनीतिक क्रिडास्थल बनाउन केही स्वदेशी तथा विदेशी शक्तिकेन्द्र लागि परेको बताउदै कुंवरले यसको डटेर सामना गर्न बृहत् मोर्चा आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष दुल बहादुर कुंवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामिमगर, नेपाली काङ्ग्रेस गुल्मीका सचिव एवम् पत्रकार जगदीश भट्टराई, माओवादी केन्द्रका पाल्पा जिल्ला सचिव मथुरा ढकाल, बुद्धिजीवी निर्मल श्रेष्ठ लगायतका वक्ताहरुले नेता विरहीद्वारा प्रस्तुत अवधारणा पत्रमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पिबिएम वसन्त सी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रिखिराम राना, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विकलगायतको उपस्थिति रहेको थियोे ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् पाल्पा जिल्ला इन्चार्ज धिरज सीको सभापतित्वमामा सञ्चालित कार्यक्रमको स्वागत आकाश सी र सञ्चालन जिल्ला सेक्रेटरी नेपाल सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]