‘एमसीसी सम्झौता सबैले मिलेर खारेज गर्नुको बिकल्प छैन’

२०८० आश्विन १५ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य उमा सी (शिलु) ले एमसीसी सम्झौता खारेज गर्नुको बिकल्प नभएको ठोकुवा गरेकी छन् । नेकपा महकाली ब्युरोद्वारा आयोजित “MCC परियोजना र राष्ट्रिय स्वाधिनताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन्।
नेता उमा सी ले नेपालको राष्ट्रिय स्वाधिनताको विरुद्ध रहेको अमेरिकी सहयोग एमसीसी केवल अनुदान मात्र नभएर सैन्य रणनीति पनि रहेको प्रस्ट्याउँदै यसको खारेजीको माग गरेकि छन् । उनले नेपालको कानुन भन्दा माथि हुने , परियोजनाको लेखा परीक्षण नेपालले गर्न नपाउने , एमसीसीका कुनै कर्मचारीले अपराधिक क्रियाकलाप गरेमा तिनलाई नेपालमा कुनै किसिमको कारबाही गर्न नपाउने लगायतका अन्य विवादस्पद र राष्ट्रको हित विरोधी प्रावधानले नै राष्ट्रघाती रहेको आफ्नो पार्टीको निष्कर्ष रहेको बताए । उनले भने,“ बाहिर देखिँदा एमसीसी जति सुन्दर देखिएपनि भित्री रूप यसको अर्कै छ ।” अमेरिकाको सुरक्षा रणनीति ऐनले नै एमसीसी हिन्द प्रशान्त रणनीति (आइपिएस) को अंग भएको स्वीकार गरेको स्थितिमा नेपालका केही व्यक्तिले यो सैन्य रणनीतिसँग जोडिएको छैन भन्नु भ्रामक रहेको उनको भनाइ थियो ।
एमसीसीले आफू खुसी तरिकाले एउटा राज्यको मान्यता भन्दा संस्थाको मान्यता माथि हुने ढंगले सम्झौतामा प्रावशकधान राखेको छ त्यो नै राष्ट्रियताको विरुद्धमा रहेको उनले जिकिर गरे । यो एमसीसी खारेजीको लागि सबैले एक ठाउँमा उभिनु पर्ने उनले बताए ।
त्यसैगरी अन्तरक्रियामा सहभागी नेकपा (माओवादी केन्द्र) का सुदुरपश्चिम प्रदेश समिति सदस्य भीम भट्टले एमसीसीका जुन प्रावधानहरु छन् यी राष्ट्रियताको विरुद्ध हुने खाले छन् तर नेपालको संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाले यसको समाधान गरेको बताए । भट्टले बरु व्याख्यात्मक घोषणालाई कार्यान्यवन गराउनका लागि समय समयमा सबै सचेत नागरिकले खबरदारी गर्न आवश्यक रहेको बताए ।
कार्यक्रमका अर्का वक्ता राष्ट्रिय प्रजातन्त्र पार्टीका कञ्चनपुर कार्यालय सचिव नरेश कार्कीले नेकपाले एमसीसी विरुद्ध थालेको अभियान समय सापेक्ष सही रहेको बताए । कार्कीले राप्रपाले समयसमयमा यसको विरुद्ध विभिन्न आन्दोलन गर्दै आएको र राष्ट्रको हित विपरितको यो सम्झौता खारेज गर्न नेकपासँग आगामी दिनमा सहकार्य गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे । वरिष्ठ पत्रकार चित्राङग थापाले राष्ट्रियताका सवालमा विभिन्न समयमा विभिन्न आन्दोलन उठ्छन् तर ती आन्दोलन निष्कर्षमा नपुग्दै बन्द हुने गरेको विषय उठाए । थापाले बरु एमसीसीमा नेपालले पारित गरेको व्याख्यात्मक घोषणाको लागू गराउन नागरिकले लाग्नु पर्ने र यो सम्झौतालाई एकै ढंगले नहेर्नु पर्ने बताए । कार्यक्रममा नेकपा पिबिएम विकल्प सीले पनि मन्तव्य राखेका थिए ।

नेकपा महकाली ब्युरोका इन्चार्ज समर सीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कञ्चनपुर जिल्ला सचिव प्रकाश सीले राखेका थिए भने कार्यक्रमको सञ्चालन नेकपा केन्द्रीय सदस्य विराट सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]