साम्राज्यवादविरुद्ध लड्न समाजवादी मोर्चा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य उमा सी (शिलु)ले नेपालमा साम्राज्यवादको हस्तक्षेप गम्भीर बनेको र देशलाई समाजवादमा लग्नु पर्ने साझा दायित्व भएका कारण समाजवादी मोर्चा बनेको बताएकी छन् । बिहिबार समाजवादी मोर्चा भोजपुरको संदेश सभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएकी हुन् । समाजवादी मोर्चा नेपालको केन्द्रीय कार्यसमिति सदस्य समेत रहेकी शिलुले आर्थिक र राजनीतिक समस्या समाधान नभएको,सबैजसो पार्टीले समाजवाद स्वीकार गरेको र जनचाहाना पनि भएका कारण नेपाली विशेषताको समाजवाद ल्याउन मोर्चा बनेको बताइन् ।
उनले आफ्नो पार्टीले एकीकृत जनक्रान्ति मार्फत त्यो लक्ष्य पुरा गर्न लडिरहेको दाबी गरिन् । प्रमुख अतिथि रहेकी उनले तुल व्यानर वाचन र दिपप्रज्वलन गरेर समाजवादी मोर्चा भोजपुरको घोषण र सन्देश सभा उद्घाटन गरेकी थिइन् ।
नेकपाका भोजपुर सचिव तिलक सीको अध्यक्षता र पकिन्द्र रसाईलीको सञ्चालन गरेको घोषणा सभा कार्यक्रममा आशकुमार राईले स्वागत मन्तव्य र ममता राईले धन्यवाद मन्तव्य दिएका थिए ।
अतिथिहरु विमल खड्का,रमेश राई,इन्द्रावती राईले पनि मन्तव्य राखेका थिए । अन्तमा नेकपाका केन्द्रीय सदस्य त्रिलोचन सीको संयोजकत्वमा ८ सदस्यीय समाजवादी मोर्चा नेपाल भोजपुर जिल्ला कार्यसमिति गठन गरिएको छ । कार्यक्रम भोजपुर नगरपालिकाको सभाकक्षमा भएको थियो ।