नेपाल कम्युनिष्ट पार्टीद्वारा भुकम्प प्रभावितका लागि बिभिन्न किसिमका सहयोगको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पवाट प्रभावितकाे उद्धार र राहतमा जुटेको छ । सो पार्टीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत महासचिव विप्लव सी ले भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन दिदै पार्टीको तर्फवाट बिभिन्न किसिमका सहयोगको घोषणा गरेका छन्।
पत्रकार सम्मेलनमार्फत महासचिव विप्लव सी ले विनाशकारी भूकम्प पीडितका लागि राहत, उद्धार र उपचारको व्यवस्था मिलाउन ढिलाइ नगर्न सरकारसँग माग गरेका छन् । उनले तत्काल मन्त्रिपरिषद्को बैठक बोलाई पीडितलाई राहत दिनका लागि आवश्यक निर्णय लिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्डले एक्लैको सक्रियताभन्दा पनि पीडितलाई राहत दिनका लागि राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक बोलाउने काममा ढिलाइ गर्न नहुने बताए । उनले विपद्ग्रस्त क्षेत्रमा स्वयंसेवकको रूपमा छिटोभन्दा छिटो सेना र प्रहरीको व्यापक परिचालन गर्न, पीडितका लागि खाद्यान्न, लत्ताकपडा र टेन्टहरूको व्यवस्था गर्न र घाइतेहरूको उपचारका लागि स्थलगतरुपमै स्वास्थ्यकर्मीहरूको परिचालन गर्न पनि सरकारसँग माग गर्दै भने-
‘राज्यले यथाशीघ्र उपचार, राहत र उद्धारको व्यवस्था गर्नुपर्छ भनेर पनि हामीले माग राखेका छौँ । यसो त हामीले बिहानै यहाँ उपलब्ध सिसीका साथीहरूसँग बसेर त्यो कुरा सार्वजनिक गरिसकेका छौँ । किनकि अहिले चाहिँ सरकारलाई पनि हामीले धन्यवाद दिनुपर्छ । किनकि तदारुकताका साथ नै कामहरूलाई अगाडि बढाएको छ सरकारले । त्यो चाहिँ राम्रो कुरा हो’ महासचिव विप्लवले भने, तर, मन्त्रीपरिषद्बाट छिटो निर्णय गर्नुपर्ने कुराहरू चाहिँ ढिलो भएको छ । त्यो प्रधानमन्त्रीको एकल सक्रियता जस्तोले हुँदैन । राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ छिटो भन्ने हाम्रो माग छ । ’
उनले भूकम्प पीडितको बिचल्ली भएको बताउँदै भने – ‘ यो चिसोको मौसममा घरहरू भत्किएका छन् र त्यहाँ चाहिँ जनतालाई सास्ती भएको छ । अहिले भर्खरै प्रत्यक्ष रूपमै पार्टीका कमरेडहरूले गाउँ तहबाटै फोन गरिराख्नुभएको छ । अहिले बिचल्ली छ । त्यसैले त्यहाँ चाहिँ खाद्यान्न, लत्ताकपडा र टेन्टहरूको व्यवस्था छिटो गर्नुपर्छ भन्ने राज्यसँग हाम्रो माग छ। त्यसपछि सिरियस घाइतेहरूको त हेलिकप्टरले उद्धार र घाइतेहरूका लागि स्वास्थ्यकर्मीहरूको टोली बनाएर राज्यले छिटो परिचालन गर्नुपर्छ । यी राज्यसँगका कुराहरू भयो । त्यसपछि हामीले सबै सङ्घ, संस्थाहरूलाई पनि आफ्नो क्षमता अनुसार परिचालित हुनुस् भनेर हामीले आग्रह गरेका छौँ ।’
यसैगरी, उक्त पत्रकार सम्मेलनमार्फत नेपाल कम्युनिस्ट पार्टीले भूकम्प प्रभावितहरुलाई पार्टीको तर्फवाट बिभिन्न सहयोग पुर्याउने जानकारी दिएको छ। जस अन्तर्गत पार्टीको खाद्यय भण्डारबाट १ सय प्याक चामल (२५ क्विन्टल) उपलब्ध गराउने , जनस्वास्थ्यकर्मी महासंघ (डा.प्रकास सी)को नेतृत्वमा डक्टरहरुको टोली जाजरकोट र रुकुम खटाउने , भेरी, राप्ती, कर्णाली, सेती, महाकाली, लुम्बिनी व्युरोबाट एक–एक वटा स्वयमसेवक टोली परिचालन गर्ने , राहत लगत्तै निर्माणमा देशभरीबाट जनस्वयमसेवकहरु परिचालन गर्ने , देशको राजधानी लगायत सबै जिल्लामा राहतकालागि लत्ता कपडा, टेन्ट, औषधी, रकम संकलन गर्ने , पार्टीले राहत कोषकालागि आधिकारिक खाता खोलेर सिधै जम्मा हुने व्यवस्था मिलाउने र विभिन्न अस्पतालमा उपचारमा रहेका घाइतेहरुलाई आवश्यक सेवा गर्न सहायता डेक्स राख्ने व्यवस्था गर्ने रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा आयोजित उक्त पत्रकार सम्मेलनमा सो पार्टीका महासचिब बिप्लव द्वारा जारी बिज्ञप्ति प्रवक्ता प्रकाण्ड सी ले पढेर सुनाएको थिए। जुन यस प्रकार रहेको छ -‘कार्तिक १७ गते राति ११.४७ मिनेटमा जाजरकोट र पश्चिम रुकुम केन्द्रीत भएर गएको ६.४ रेक्टरको भूकम्पले ठूलो जनधनको अपूरणीय क्षति गरेको छ । १३२ जना नागरिकको ज्यान गएको छ भने सयौं जना घाईते हुनु भएको छ । यस पीडाको घडिमा ज्यान गुमाउने नागरिकहरुप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । त्यसैगरी घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
जाजरकोट, रुकुम र छिमेकी जिल्लाहरुमा जुन क्षति भएको छ यो स्थितिमा जनताको सेवामा जुट्न हाम्रो पार्टी आम पार्टी पंक्ति, ज.व.स., मोर्चा, युवा जनस्वयम सेवक सबैलाई उद्धार तथा राहतमा जुट्न निर्देशन गर्दछ । त्यस्तै भूकम्पबाट ज्यान गुमाएका नागरिकहरुलाई उचित राहतको व्यवस्था गर्न, घाइतेहरुको स्वास्थ्य उपचार गर्न साथै घर भत्किएर समस्या झेलिरहेका जनतालाई यथासिघ्र राहतको व्यवस्था मिलाउन सरकारसंग माग गर्दछ ।
यो पीडाको क्षणमा हाम्रो पार्टीका तर्फबाट निम्न राहतको कार्यक्रम संचालन गर्ने जानकारी गराउँद छौं ।
१) पार्टी कोषबाट राज्य राहत कोषमा एक लाख (१,००,०००) जम्मा गरिदिने ।
२) पार्टीको खाद्यय भण्डारबाट १ सय प्याक चामल (२५ क्विन्टल) उपलब्ध गराउने ।
३) जनस्वास्थ्यकर्मी महासंघ (डा.प्रकास सी)को नेतृत्वमा डक्टरहरुको टोली जाजरकोट र रुकुम खटाउने ।
४)भेरी, राप्ती, कर्णाली, सेती, महाकाली, लुम्बिनी व्युरोबाट एक–एक वटा स्वयमसेवक टोली परिचालन गर्ने । राहत लगत्तै निर्माणमा देशभरीबाट जनस्वयमसेवकहरु परिचालन गर्ने ।
५) देशको राजधानी लगायत सबै जिल्लामा राहतकालागि लत्ता कपडा, टेन्ट, औषधी, रकम संकलन गर्ने ।
६) पार्टीले राहत कोषकालागि आधिकारिक खाता खोलेर सिधै जम्मा हुने व्यवस्था मिलाउने ।
७) विभिन्न अस्पतालमा उपचारमा रहेका घाइतेहरुलाई आवश्यक सेवा गर्न सहायता डेक्स राख्ने व्यवस्था गर्ने छ । ‘
