नेकपाद्वारा देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा बनाएर देशको रक्षा गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकले देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा बनाएर देशको रक्षा गर्ने निर्णय गरेको छ । आईतबार मध्यान्ह सम्पान सो बैठकले देश निकै संकटमा परेको निष्कर्ष निकाल्दै देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा बनाएर देशको रक्षा गर्ने निर्णय गरेको स्थायी समिति सदस्य अनिल सीले जानकारी दिए ।
यसैगरी, उक्त बैठकले महासचिव विप्लव सी ले पेश गरेको “केन्द्रिय समितिको विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव” समेत पारित गरेको छ ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा बनाएर देशको रक्षा गर्नुपर्ने बताए । उनले साम्राज्यवादको नेपालमा नाङगो हस्तक्षेप बढेको भन्दै देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा जरुरी भएको बताए ।
महासचिव विप्लव सी ले स्थायी समितिका सदस्यहरुको जिज्ञासाको बारे बोल्दै अदालतको पछिल्लो काण्ड साम्राज्यवादी डिजाईन भित्र आएको ठोकुवा गरे ।
यसैगरी , उक्त बैठकमा प्रवक्ता प्रकाण्ड सीले महासचिवले ल्याएको प्रस्ताव ठोश परिस्थितिको ठोस विश्लेषण भएको बताउदै अब देशी विदेशी दलाल तथा साम्राज्यवादीहरु विरुद्ध संघर्ष गर्ने पार्टी र मोर्चा चाहिएकोमा जोड दिए ।
बैठकमा नेकपाका स्थायी समिति सदस्य सन्तोस सीले महासचिवले ल्याएको प्रस्ताव सहि भएको भन्दै देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा आवश्यक भएको बताए ।
अर्का स्थायी समितिका सदस्य अनिल सीले देशभक्त शक्ति र कम्युनिष्ट शक्ति बिच संयुक्त मोर्चा बनाउन आवश्यक भएको बताए । उनले महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड सहितका नेतामाथि अमेरिकाकै निर्देशनमा आक्रमण भएको र सरकार त्यसको मतियार भएको दाबी गरे ।
यसैगरी, स्थायी समितिका सदस्य शिलु सीले मध्यमवर्ग र देशभक्त शक्तिलाई एकतामा ल्याएर मात्र विदेशी हस्तक्षेप रोक्न सकिने बताईन ।
अर्का स्थायी समिति सदस्य भरत सीले महासचिवको प्रस्तावमाथि धारणा राख्दै भ्रष्टाचारका काण्डहरुको व्याख्या गरेर जनतालाई बुझाउदै भ्रष्टहरुलाई नांगेझार पार्दै जनमत बनाउनु पर्ने बताए ।
अर्का स्थायी समितिका सदस्य शुशिल सीले समाजवादी क्रान्ति पुरा गर्न एकता र ध्र्रुवीकरणको कार्य खुल्ला हुनुपर्ने बताए ।
बैठकले पारित गरेको “केन्द्रिय समितिको विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव” अब बस्ने पोलिट ब्यूरोको बैठकमा समेत छलफल हुनेछ ।
बैठकमा नेकपाका महासचिव विप्लव सी,स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी,स्थायी समितिका सदस्यहरु सन्तोस सी,अनिल सी,शिलु सी,भरत सी र शुशिल सीको उपस्थिति रहेको थियो ।