‘अमेरिकन सम्राज्यवादले अदालतको ढोकाबाट नेकपामाथि प्रहार गर्यो ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका समिति सदस्य अनिल सी ले अमेरिकन सम्राज्यवादले अदालतको ढोकाबाट नेकपामाथि प्रहार गरेको ठोकुवा गरेका छन। सो पार्टीको पश्चिम नारायणी ब्युरोको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। नेता अनिल सीले पक्राउ पुर्जी नियमित र सामान्य कुरा नभएको भन्दै पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहितका शिर्ष नेता विरुद्ध जारी गरिएको पक्राउ पुर्जी सामान्य र नियमित प्रक्रिया नभएको र यो अमेरिकन सम्राज्यवादले अदालतको ढोकाबाट प्रहार भएको ठोकुवा गरे ।
उनले श्रम पलायन क्रान्तिभन्दा अगाडि नरोकिने भन्दै पुजीवादको चरित्र नै देशहरुलाई उपभोग गर्न दिने तर उत्पादन गर्न नदिने हुँदा आफ्नो उत्पादन हुने क्षेत्रमा श्रम निर्यात गर्नुपर्ने भएकोले हाम्रो जस्तो देशबाट श्रमशक्ति लैजानुपर्ने बताए ।
उनले त्यसकारण पुजीवाद नढल्दासम्म श्रम पलायन नराेकिने बताउदै श्रम पलायन रोकिनको लागि क्रान्ति नै एकमात्र विकल्प भएको बताए ।
नेता अनिल सीले सबै कम्युनिस्टहरु नेपालका मित्रशक्ति भएको उल्लेख गरे । उनले अब कम्युनिस्ट मात्रै होइन अब दलाल पुजीवादी शक्ति र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिलाई अलग गरि हेर्नुपर्ने बताउदै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति पनि आफ्ना मित्रशक्ति भएको दाेहाेर्याए ।
नेकपा पश्चिम नारायणी ब्यूरोको छैठौं पूर्ण बैठकले पौष १० गते माओ दिवसको दिन ‘पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं, राज्य षड्यन्त्रको भण्डाफोर गरौं’ भन्ने मूल नारासहित दुई महिने अभियान जिल्ला जिल्लामा संचालन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले वडा, पालिका स्तरमा राजनीतिक अन्तरक्रिया गर्ने, विभिन्न कम्युनिस्ट पार्टीसंग राजनीतिक भेटघाट गर्ने, सेल/वडा/पालिका कमिटी गठन/पुनर्गठन गर्ने, युवा-विद्यार्थीको जिल्ला सम्मेलन गर्ने, प्रतिरोध संचालन संचालन गर्ने निर्णय गरेको छ ।
यस्तै स्थानीय तहलाई कार्यकारी बनाइ नागरिकता वितरण, मालपोत, नापी,राष्ट्रिय परिचय पत्र लगायत विषयहरु स्थानीय तहबाट नै वितरण गर्न सरकारलाई दबावस्वरुप जिल्ला प्रशासन कार्यलयमार्फत ज्ञापनपत्र बुझाउने, एमसिसी विरुद्ध संघर्ष गर्ने, दलाल राज्यव्यवस्थाको भण्डाफोर सबै हिसाबले गर्ने लगाएतका संघर्षहरु प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
नेकपाका पश्चिम नारायणी ब्युरो इन्चार्ज एटम सीको अध्यक्षतामा बसेको उक्त बैठकको प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य अनिल सी र अतिथिमा पोलिट ब्युरो सदस्य तथा केन्द्रिय उत्पादन शाखा माडीका प्रमुख इन्चार्ज सन्देश सी रहेका थिए ।