‘एकीकृत जनक्रान्तिको कार्यदिशा नै नेपालको माओवाद हो’

२०८० पुष ११ गते, बुधबार


‘काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सी ले एकीकृत जनक्रान्तिको कार्यदिशा नै नेपालको माओवाद भएको बताएका छन। नेकपा पूर्वी लुम्बिनी ब्युरोद्धारा मंगलबार आयोजित १३१ औं माओ दिवस, राजनीतिक प्रशिक्षण र दुई महिने अभियानको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता अनिले सी ले भने – ‘आज माओको जन्म भएको दिन हो । आजभन्दा १३० बर्ष अगाडि चीनमा कमरेड माओको जन्म भएको थियो । यो अवसरमा हामीले दुई महिने अभियानको उद्घाटन गरेका छौं । आज देशैभरी हाम्रो पार्टीले माओ दिवस मनाएको छ । अमेरिकी लेखक हावर्ड फास्टले विगतका बलिदानहरुलाई वर्तमानका प्रतिरोध आन्दोलनसित जोड्नु लेखकको मुख्य काम भएको बताउनुभएको थियोे । हामीले माओको योगदानलाई स्मरण गर्नुको अर्थ आजको सन्दर्भमा जोड्नु हो । माओ दिवस मनाउनु कुनै धार्मिक कर्मकाण्ड जस्तो होइन ।
रुसमा क्रान्ति भएपछि लेनिनले चीन र भारत जस्ता देशमा किसानमा आधारित क्रान्ति गर्नुपर्छ तर त्यो त्यहाँको विशेषताको आधार हुने बताएका थिए । १९२१ मा चीनमा पार्टी स्थापना भयो । रुसका कतिपय नेता र स्टालिनले समेत चीनमा रुसको जस्तो क्रान्ति गर्नुपर्छ भन्दा माओले मान्नुभएन । बरु माओ चिङकाङशानको पहाडमा सेनालाई लिएर जानुभयो । त्यतिबेला किसानको भर परेर क्रान्ति गर्नुपर्छ भन्दा माओलाई कारवाही गरिएको थियो तर आखिरमा माओकै लाइन पास भयो । माओले द्धन्द्धवादको नियमलाई विकास गर्नुभयो ।
कामरेड माओले कम्युनिस्ट पार्टीमा बहुमत भएर मात्रै सबै सत्य नहुने र सत्य जहिल्यै अल्पमतमा हुने बताउनुभयो । उहाँले चिनिया कम्युनिस्ट पार्टीभित्र देखिएको संशोधनवाद विरुद्ध महान सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गर्नुभयो । माओले दर्शन, राजनीति र अर्थशास्त्रको क्षेत्रमा विकास गर्दै विश्वक्रान्तिमा महत्वपूर्ण योगदान गर्नुभयो । पेरुमा कामरेड गोञ्जालोले माओवादको शंश्लेषण गर्नुभयो । मालेमावादलाई नेपालमा लागु गर्ने भनेको नेपाली विशेषताको समाजवाद लागु गर्ने हो ।
सत्ताको प्रश्नमा रुसमा लेनिनले सर्वहारा वर्गको अधिनायकत्व भन्नुभयो । चीनमा माओले जनताको जनवादी अधिनायकत्व भन्नुभयो । नेपालमा हामीले मध्यमवर्ग, देशभक्त र श्रमिक वर्गको अधिनायकत्वलाई जोड्नुपर्छ । धर्मको बिषयमा धार्मिक स्वतन्त्रता हुनुपर्छ । अहिले एकीकृत जनक्रान्तिको कार्यदिशा नै नेपालको माओवाद हो । क्रान्ति रुस र चीनमा जस्तो अन्धनक्कल गरेर यान्त्रिक होइन, नेपालको सन्दर्भमा मालेमावादको आधारभूत मान्यतालाई आत्मसात गर्दै एकीकृत जनक्रान्ति मार्फत् पुरा गर्नुपर्छ ।
अहिले हाम्रो पार्टीले राजनीति, विचार र दर्शनको क्षेत्रमा नयाँ बहसको सुरुवात गरेको छ । हामीले नयाँ ढंगले सोचिरहेका छौं । अहिले सरकारले हाम्रो पार्टीलाई संसदीय व्यवस्थामा नजाने बुझेपछि ३ बुँदे सहमति लागु गर्न चाहेको छैन । हाम्रा आस्थाका बन्दी कमरेडहरुलाई नछोडेर दवाव दिन थालेको छ । समाजवादी मोर्चालाई जनस्तरसम्म पुर्याउनुपर्छ । देशभर पार्टीप्रति जनताको लहर सिर्जना भएको छ । पक्राउ पुर्जीबारे प्रचण्ड नबोल्नुको कारण साँठगाँठ भएको हुनुपर्छ । कम्युनिस्टहरुले प्रतिरोध नगरी साम्राज्यवादले तेर्दैनन् । साम्राज्यवाद भूमण्डलीकृत हुनुको अर्थ क्रान्तिकारीहरुमाथि सबै मोर्चाबाट हमला हुनु हो । पार्टीले सबै मोर्चामार्फत साम्राज्यवाद विरुद्ध लड्नुपर्छ ।
वामपन्थी कम्युनिस्ट ध्रुवीकरण बढाउनुपर्छ । देशभक्तहरुसित सहकार्य गर्नुपर्छ । हामीले देशभक्त भनेको मूर्तिचोरहरुलाई भनेको होइन । जाँड खाएर नागरिक हत्या गर्नेहरुलाई भनेको होइन । देशभक्त भनेको पृथ्वीनारायणको देशभक्तहरुको इतिहासलाई भनेको हो । उनले व्रिटिश साम्राज्यवाद विरुद्ध लडेका थिए । अहिले एमसीसी विरुद्ध नलड्ने देशभक्त हुँदैन । हामीले अमेरिका र भाजपाका दलालहरुलाई देशभक्त भनेको होइन । उनीहरुलाई राजनीतिक स्पेश दिन सकिन्छ तर राजतन्त्र फर्काउन सकिदैन । अहिले गैरकम्युनिस्टहरु पनि क्रान्तिमा ल्याउनुपर्छ । उत्तर कोरिया, जापान र कम्बोडियामा कम्युनिस्ट र गैरकम्युनिस्टहरु लडेर गणतन्त्र ल्याएका थिए । श्रीलंकामा बुद्धिस्ट गुरु समेत आमरण अनसन गरेपछि एमसीसी फिर्ता भएको हो । रुसमा स्टालिनले संयुक्त मोर्चा गरेका थिए । अमेरिकी साम्राज्यवाद नेपाल आउने भनेको चीन समेत आफ्नो रक्षाका लागी आउने भनेको हो । यसका लागी देशभक्तहरुको मोर्चा जरुरी छ ।’

यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य बसन्त सी ले राज्यको षड्यन्त्रविरुद्ध विवेक र साहसका साथ प्रतिरोध गर्ने बताए । उनले भने – ‘१३१ औं माओ दिवसको सन्दर्भमा कामरेड माओत्सेतुङलाई विशेष अभिनन्दन गर्दछु । माओको विचारलाई अझ विकसित गर्ने काममा हाम्रो योगदाम महत्वपूर्ण हुनेछ । माओले चीनको विशेषतामा माक्र्सवाद र लेनिनवादलाई विकास गर्दै साम्राज्यवाद र सामन्तवादविरुद्ध लड्ने हिक्मत गर्नुभयो । अहिलेको सन्दर्भमा हामीले नयाँ विश्व परिवेशमा माओवादलाई नयाँ विकास गर्ने आँट गर्नुपर्छ । माओवाद निरन्तर क्रान्तिको सिद्धान्त हो । क्रान्ति भनेको सत्ता प्राप्त गर्ने मात्र होइन, त्यसपछि पनि निरन्तर क्रान्तिलाई आत्मसात गर्ने कुरा हो ।
हामीले ब्युरोका सबै योजनालाई केन्द्रीय योजनामा समाहित गरेर लैजानुपर्छ । अभियानलाई आआफ्नो सिर्जनशीलतामा अगाडी बढाउनुपर्छ । अर्धज्ञानले सधै भय पैदा गर्छ । केही पनि ज्ञान नभएपछि मुर्ख हुन्छ । तर ज्ञान भएपछि विवेक प्रयोग हुन्छ । पार्टी महासचिव कामरेड विप्लव र प्रवक्ता प्रकाण्डलगायत कामरेडहरुलाई पक्राउ पुर्जी जारी गर्नुमा प्रतिक्रियावादी राज्यसत्ता र अमेरिकी साम्राज्यवादको योजना हो । अमेरिकी साम्राज्यवादले अहिले नेपालमा माइक्रोम्यानेजमेन्ट गर्न खोजिरहेको छ । एमसीसी कार्यान्वयन गर्न नदिने नेकपा बाहेक कोही होइन भन्ने कुरा अमेरिकाले बुझेको छ । अहिले उसले पक्राउ पुर्जीमार्फत् धम्काएर दवावमा राख्ने रणनीति लिएको छ । हामीले यसको विवेक र साहसका साथ संघर्षका सबै मोर्चाहरुबाट सबै षड्यन्त्रविरुद्ध प्रतिरोध गर्ने निर्णय गरेका छौं । यसका विरुद्ध हामीले साम्राज्यवाद र दलाल पुँजीपति वर्गबाहेक सबैलाई क्रान्तिमा गोलबन्द गर्नुपर्छ । यसका लागि हामीले दुई महिने अभियान सञ्चालन गर्नेछौं ।
साम्राज्यवादका लागि सबै कम्युनिस्टहरु दुश्मन हुन् । अहिले कम्युनिस्ट आन्दोलनलाई पुनगर्ठित गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । नेपाली विशेषताको समाजवादका लागि देशभक्त र वामपन्थी कम्युनिस्टहरुसित मोर्चा वा सहकार्य हुन्छ । अहिले मुख्य दुश्मनलाई अलग्याएर मित्रशक्तिको दायरा बढाउनुपर्छ ।’


यसैगरी, उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीले भुकम्प प्रभावित क्षेत्र सल्यानको दार्मा गाउँपालिकामा पुनर्निर्माण र राहतका लागि गएको नेकपा पूर्वी लुम्बिनी ब्यूरोका सदस्यलाई सम्मान गरेको छ । नेकपा स्थायी समिती सदस्य अनिल सीले उनीहरुलाई अबिर र खादा लगाएर सम्मान गरेका थिए । सम्मान हुनेमा राहत तथा पुनर्निर्माणमा गएका टिम कमान्डर तथा पार्टी पिबिएम, ब्यूरो इन्चार्ज वसन्त सी, केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज कमल सी, गुल्मी इन्चार्ज खोमा सी, पाल्पा सेक्रेटरी नेपाल सी, नवलपुर सेक्रेटरी रक्षक सी, रूपन्देही जिल्ला सदस्य तेजेन्द्र सी लगायत २० जना रहेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]