समाजवादी मोर्चा नेपालको पहिलो चरणको बैठक सम्पन्न : साँझ ६ बजे पुन: बैठक बस्ने

काठमाडौँ । समाजवादी मोर्चा नेपालको पहिलो चरणको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मोर्चाको बैठकमा वर्तमान राजनीतिक बिषयमा गम्भीर छलफल भएको बताइएको छ। समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड,नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका चार दलिय मोर्चाका दोस्रो तहका नेताहरुको सहभागीता रहेको थियो । मोर्चाको बैठकले मोर्चा मार्फत भएका यसअघिका कामहरु सकरात्मक भएको र जनतामा नयाँ आशा जगाएको ठहर गरेको छ ।
उक्त बैठकमा समाजवादी मोर्चा नेपालले हालसम्म गरेको प्रगति र मोर्चाको सकारात्मक पक्षका बिषयमा छलफल हुनुको साथै मोर्चाको आगामी नेतृत्वको बिषयमा समेत छफल भएको भएको बताइएको छ।
मोर्चाको अर्को बैठक आजै साँझ ६ बजे फेरि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने र उल्लेखित विस्तृतमा छलफल गर्ने बताइएको छ ।
समाजवादी मोर्चा नेपालको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव सी ले सरकारले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखाएको बताउदै भने – ‘सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरु देखिएका छन्, त्यो चल्दैन ।’
यसैगरी , मोर्चाको बैठकमा सहभागी नेकपाका प्रवक्ता प्रकाण्ड सी ले आफूहरु विरुद्धको प्रक्राउ पुर्जी शान्ति प्रक्रिया र गणतन्त्र विरुद्धकै षडयन्त्र भएको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा आफूहरुसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा जोड दिएको बताए ।
प्रवक्ता प्रकाण्ड सी का अनुसार आज बिहानको बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चाका आगामी कार्यक्रम लगायतका विषयमा छलफल सुरु भएको छ । छलफल नसकिएकाले आजै बेलुका ६ बजे फेरि बैठक बस्ने छ ।