‘गाउँगाउँमा गएर सत्य कुरा बोल्छन् भनेर महासचिव विप्लव सी लाई पक्राउ पुर्जी काटियो’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य विषम सीले गाउँगाउँमा गएर सत्य कुरा बोल्छन् भनेर पार्टीका महासचिव विप्लव सी लाई पक्राउ पुर्जी जारी गरिएको ठोकुवा गरेका छन् । मंगलबार दाङ तुलसीपुरको बिजौरीस्थित बाँसगढीमा आयोजित अभियान उद्घाटन तथा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । नेता विषम सी ले भने,– ‘ दलाल सत्ताले साम्राज्यवादको निर्देशनमा हाम्रो पार्टीका महासचिव विप्लव , प्रवक्ता सहितका नेताकार्यकर्तालाई केही समयअघि मात्रै पक्राउ पुर्जी जारी गरेको छ । पुर्जीका पछाडि अनेकौं देशीविदेशी षड्यन्त्रहरु छन् त्यो मध्य यहाँको दलाल पुजीवादी सत्ता नेकपाका नेताकार्यकर्ता गाउँगाउँमा गएर सत्य कुरा बोल्छन् , आफ्नो सत्ता संकटमा पर्छ भनेर नै हो । अहिलेको सत्ता चुर्लुम्म भ्रष्टाचारमा डुबेको छ । दिनानुदिन संसदीय सत्ता संकटमा छ त्यो कुरा हामीले जनतालाई सचेत ढंगले भन्छौं भनेर नै हामीलाई जनतामा पुग्न नदिन पक्राउ पुर्जी जारी गरिएको हो । हामी सरकारलाई चेतावनी दिन्छौं पुर्जी खारेज नगरे यो देश द्वन्द्वमा फस्छ । हामीले द्वन्द्व कदापी चाहेका होइनौं तर जबर्जस्त बन्दुकको बलले सत्य दबाउन खोजे प्रतिरोध अनिवार्य बन्न पुग्छ ।’
नेता विषम सी ले तत्कालीन सरकारसंग भएको तिन बुदे सहमती कार्यान्वयन नगरे मुलुक द्वन्द्वमा फस्ने भएकाले प्रचण्ड सरकारलाई सहमती अबिलम्ब कार्यान्वयन गर्न सुझाव दिए । उनले नेकपाले कुनैपनि हालतमा एमसीसी सम्झौता लागू हुन नदिने उद्घोष गर्दै भने – ‘ एमसीसी सम्झौता नेपाल र नेपाली जनताको हितमा छैन । यो सम्झौता राष्ट्रिय स्वाधीनताको विरुद्धमा छ । सर्वभौम मुलुक चीन लक्षित यो सम्झौता नेकपाले लागू हुन दिदैन । यहाँका प्राकृतिक स्रोत साधन कब्जा गर्ने अमेरिकी षडयन्त्र नेकपा रहदासम्म सफल हुदैन ।’
नेता विषम सी ले १३१औ माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा महान नेता माओलाई सम्झिदै गएगुज्रेको चीनलाई अहिलेको आधुनिक चीनमा महान नेता भएको प्रष्ट्याए । उनले भने – ‘क्रान्ति हिजोको तरिकाबाट मात्रै हुँदैन । जनयुद्धको तरिकाले मात्रै क्रान्ति हुँदैन । आज क्रान्ति एकीकृत जनक्रान्तिको माध्यमबाट हुन्छ जसले जनयुद्ध र जनबिद्रोहलाई जोडेको छ। साम्राज्यवाद जुन ढंगले आएको छ त्यही ढंगले लड्ने कार्यदिशा एकीकृत जनक्रान्ति हो । उसको एकीकृत रणनीतिलाई जित्न हामी पनि एकीकृत ढंगले लड्नुपर्छ ।’
नेता विषम सी ले नेपालका कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध हुने बेला आएकोको उद्घोष गर्दै भने- ‘ अमेरिकी साम्राज्यवाद नेपाली भुमिमा आइसकेको छ । देशमा विद्यमान संसदीय व्यवस्था पूर्ण संकटमा छ । यो बेलामा साम्राज्यवादका विरुद्ध लड्न र संसदीय सत्ताको जरो उखेली विकल्पमा समाजवादी राज्यव्यवस्था स्थापनाका लागि सच्चा कम्युनिस्ट क्रान्तिकारी शक्तीहरु एकताबद्ध हुने बेला आएको छ । अबपनि ढिला गर्नु हुँदैन । मुलुकको राष्ट्रिय स्वाधीनता सर्वाधिक संकटमा छ त्यसका लागि मिलेर संघर्ष गरौं भन्ने हाम्रो पार्टीको निष्कर्ष हो ।’
उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी , पार्टीका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका लुम्बिनी प्रदेश कमिटी सदस्य मनोज परियार सहित ५६ जना युवाहरु नेकपा प्रवेश गरेका थिए ।
ध्रुवीकरण कार्यक्रम मार्फत नेकपा प्रवेश गर्नेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका सदस्य मनोज परियार , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला कमिटी सदस्य अर्जुन शाही , तुलसीपुरका युवा दिलिप नेपाली सहित ५६ जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टीमा समाहित हुने ५६ जना युवाहरुलाइ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य विषम सीले टीका , माला लगाएर स्वागत गरेका थिए।
यसैबिच नेकपा पश्चिम दाङले जिल्लाव्यापी ‘पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं , राज्य षड्यन्त्रको भण्डाफोर गरौं’ भन्ने मूल नारासहित अभियानको उद्घाटन गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य विषम सीले नेकपा पश्चिम् दाङका सचिव निर्मल सी र जिल्ला इन्चार्ज प्रदिप सीलाई कम्युनिस्ट पार्टीको झण्डा हस्तान्तरण गरेर दुई महिने अभियानको उद्घाटन गरेका हुन् ।
नेकपाका स्थायी कमिटी सदस्य विषम सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सी , नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सल्लाहकार समितीका सदस्य सुन्दर सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , नेकपा पश्चिम दाङका सल्लाहकार समितिका सदस्य वंशिधर सीको आतिथ्य रहेको थियो ।
गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा पश्चिम दाङका सचिव निर्मल सीको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले गरेका थिए ।