बालकुमारी घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाही गर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले बालकुमारी घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाही गर्न, मृतकका परिवारजनलाई उचित राहतको ब्यवस्था गर्न र घाईतहरुको निशुल्क उपचार गर्न माग गरेको छ। सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले शुक्रबार साँझ एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा कोरिया जानको लागि रोजगारी अनुमति प्रणाली (EPS)परीक्षाको विषयलाई लिएर ललितपुर जिल्लाको बालकुमारीमा भएको युवाहरुको विरोध प्रदर्शन र सरकारी हस्तक्षेपका कारण दुई युवा सुरज रावल र विरेन्द्र शाहको मृत्यु भएको घटनाप्रति पार्टीको ध्यान गम्भिररुपमा आकर्षित भएको जनाउदै उक्त घटनाको घोर निन्दा गरिएको छ । साथै मृतक युवाप्रति भावपूर्ण श्रद्धानजली अपर्ण गर्दै शोकमग्न आफन्तजनप्रति हार्दिक समवेदना ब्यक्त गरिएको छ भने । घाईतेको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ -‘बेरोजगार युवाहरुको कष्टपूर्ण जीवन, रोजगारीको निम्ति विदेशिन ताँती लाग्नुपर्ने देशको वाध्यात्मक अवस्था र रोजगारी अनुमति प्रणालीको परीक्षा दिन नपाएको आक्रोशमा आन्दोलित युवाहरुको संवेदनशिल विषयलाई जिम्मेवार पूर्णरुपमा लिएर समाधान खोज्नुको सट्टा राज्यले जुन दमन गर्यो र दुईजना युवाको ज्यान गयो । यो दुखत र गैर जिम्मेवार कार्य हो । ‘
यसैगरी, प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा विरोध र आन्दोलनका क्रममा अराजक मान्छेहरुको प्रवेश गराई आगजनी गर्ने र अराजकता मच्चाउने षडयन्त्रप्रति आन्दोलनकारी र राजनीतिक पार्टीलाई सचेत रहन विशेष आग्रहसमेत गरिएको छ ।
