तीन बुँदे सहमति विपरित नेकपाका नेताका घरमा पक्राउ पूर्जी टाँस

२०८० माघ १० गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बिच भएको तीन बुँदे सहमति विपरित नेकपाका स्थायी समिति सदस्य भरत सी र पोलिट व्यूरो सदस्य दिपेश राई (दिपेश) सी घरमा पक्राउ पूर्जी टाँस गरिएको छ ।
नेकपाका महासचिव विप्लव सहित नेता भरत सीको नाममा काठमाडौ जिल्ला अदालतमा दर्ता गरिएको विष्फोटक पदार्थ,ज्यान मार्ने उद्योग र संगठित अपराधको मुद्धामा (मुद्धा नम्वर (०७५–८१–२०४३) नेता भरत सीलाई अदालतमा हाजिर नभएको भन्दै ३५ दिने पक्राउ पूर्जी टाँस गरिएको हो ।
यसैगरी, काठमाडौ जिल्ला अदालतमा दर्ता गरिएको विष्फोटक पदार्थ,ज्यान मार्ने उद्योग र संगठित अपराधको मुद्धामा नेता दिपेश सीलाई अदालतमा हाजिर नभएको भन्दै ३५ दिने पक्राउ पूर्जी उनकै घर षड्नन्द नगरपालिका १३ भोजपुरमा टाँस गरिएको छ ।
यसअघि महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेकपाका नेताहरुका नाममा पनि तीन बुँदे सहमतिको ठाडो उल्लंघन गर्दै काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।
पक्राउ पूर्जीमा रोहन गुरुङको जाहेरीले समेत बादी नेपाल सरकार प्रतिवादी नेत्रविक्रम चन्द्र (विप्लव) समेत भएको विष्फोटक पदार्थ,ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्धामा नेकपाका स्थायी समिति सदस्य भरत सी र पोलिट व्यूरो सदस्य दिपेश राई (दिपेश) सी लाई गिरफ्तार गर्न पक्राउ पूर्जी जारी गरिएकोमा पक्राउ नपरेकाले ३५ दिने पक्राउ पूर्जी टाँस गरिएको उल्लेख गरिएको छ ।
उनीहरुलाई बाटोको म्याद वाहेक ३५ दिन भित्र आफै वा पक्राउ पूर्जी वमोजिम पक्राउ परी अदालतमा हाजिर हुन आउन भनिएको छ । पक्राउ पूर्जीमा हाजिर हुन नआए पछि उजुर वाजुर केही पनि नलाग्ने लेखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]