‘राज्यले सहिद तथा बेपत्ता परिवारलाई उचित सम्मान गर्न सकेन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले राज्यले सहिद तथा बेपत्ता परिवारलाई उचित सम्मान गर्न नसकेको बताएकी छन। नेकपा कास्कीद्वारा सोमबार १५ औं बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन्।
इन्चार्ज शिलु सीले बेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै देशमा समाजवाद स्थापनाको सपना देखेका शहिद तथा बेपत्ताहरुको सपना पूरा गर्न नेकपा लडिरहेको र सधै समाजवादको बाटोमा प्रतिबद्ध भएर अगाडि बढ्ने बताइन् । उनले बेत्तपाहरुको स्थिति सार्वजनिक गर्न राज्य जवाफदेही र जिम्मेवार नबनेको भन्दै राज्यले बेपत्ताहरुको यथार्थ स्थिति सार्वजनिक गर्न मागसमेत गरिन् ।
नेता शिलुले निरंकुश राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्नको लागि मुख्य भूमिका सहिद तथा बेपत्ताहरुको रहेको भन्दै सहिद तथा बेपत्ता परिवारलाई राज्यले उचित सम्मान गर्न नसकेकोप्रति खेद व्यक्त गरेकी थिइन् । उनले राज्यमा दुई खाले प्रवृत्तिको हाबी भएको भन्दै एउटा हालको यथास्थितिवादलाई सुदृढ गर्दै लैजाने प्रवृति र प्रतिगमनवादलाई फर्काउन चाहने राजावादी प्रवृत्ति देखिएपनि दलाल पुजिँवादी व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवाद मात्रै रहेको र त्यसको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्नेसमेत बताइन् ।
कार्यक्रममा सहिद तथा बेपत्तायोद्धा परिवारको तर्फबाट बोल्दै आफ्ना बेपत्ता परिवारजनको स्थिति सार्वजनिक गर्न मागसमेत गरेका थिए । नेकपा कास्कीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता उमेश सीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सोममाया सीले गरेकी थिइन् । यस्तै गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा पनि बेपत्ता योद्धा स्मृति दिवस प्रदेश बैठकको निर्णयबमोजिम मनाइएको छ ।
२०५६ साल जेष्ठ ७ गते तत्कालिन राज्यले दण्डपानी न्यौपाने, मिलन नेपाली, कमला शर्मा र नविन गौतम गरी ४ जनालाई काठमाडौंको टेबहाल सुन्धाराबाट गिरफ्तार गरी बेपत्ता बनाएको थियो । सोही दिनको स्मृतिमा २०६७ सालदेखि बेपत्ता योद्धा दिवस मनाउँदै आएको छ । हालसम्म १०४९ जना देशभरबाट बेपत्ता छन् । राज्यले बेपत्ताहरुको छानविन गर्न भन्दै धेरै पटक समिति बनाएपनि हालसम्म बेपत्ताहरुको अवस्थाबारे सार्वजनिक हुन सकेको छैन ।
नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशको निर्णयबमोजिम जेष्ठ ७ गते आज १५ औं बेपत्ता योद्धा स्मृति दिवसको अवसर पारी नेकपा कास्कीको आयोजनामा पोखरास्थित विजय ढकाल स्मृति पार्कमा यी बेपत्ता योद्धाहरु कहाँ छन् ? भन्ने प्रश्नसहित बेपत्ता योद्धाहरुको तस्वीरसहितको होडिङ्ग बोर्ड राखिएको छ ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी गोरखाले जनयुद्धको क्रममा राज्यद्वारा बेपत्ता परिएका वेपत्ता योद्धाहरुको स्मरणमा कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी काजी सीको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कपिल सी रहेका थिए भने कार्यकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य योगेन्द्र सी, सहिद परिवारजन, बेपत्ता परिवारजन, जवस मोर्चाका नेताहरुको उपस्थित रहेको थियोे । अन्तरक्रियात्मक बनेको कार्यक्रममा प्रमुख अतिथि कपिलले पार्टीको पछिल्लो राजनीतिक कार्ययोजना र समसामयिक राजनीतिको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा बेपत्ता योद्धा जमुना कुमाल (अमृता) को बुवा गमबहादुर कुमाल र आमा रेनुदेवी कुमाललाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन पार्टी जिल्ला सदस्य गङ्गा सीले गरेका थिए ।