वर्तमान राजनीतिक संकटको मुख्य कारक दलाल पुँजीवादी सत्ता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको मुख्य कारक दलाल पुँजीवादी सत्ता भएको ठोकुवा गरेका छन्। बिहिबार दैलेखको राकमका स्थानीय व्यापरी, कर्मचारी राजनितिक दलका कार्यकर्ताहरुसँग भएको छलफलमा प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका छन् । प्रवक्ता प्रकाण्ड सीले देशको स्थिति राम्रो नरहेको र यति ठुलो संकट देशमा कहिल्यै नआएको बताए । उनले देश संकटमा पर्नुको मुख्य कारण दलाल पुँजीवादी सत्ता भएको उल्लेख गर्दै यसले आत्महत्या, वलात्कारका घटनाहरु बढाएको बताए। उनले यस्ता घटनाहरु शहरमा मात्र नभएर गाउँमासमेत व्यापक रुपले बढेकाले यसले थप चिन्ता बढाएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले असफल दलाल संसदीय व्यवस्थाका कारण देशको अर्थ व्यवस्था डामाडोल रहेको, भ्रष्टाचार र कमिसनखोरहरु दिनानु दिन मौलाइरहेको उल्लेख गर्दै नेपालका दलाल नेताहरु विदेशिका एजेण्ट भएकोले नेपालको सत्ता विदेशिले चलाई रहेको बताए । उनले दैलेखी जनताले महान जनयुद्ध र क्रान्तिकारी नेतालाई जहिले पनि नजिकबाट साथ र सहयोग स्मरण गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउदै भने- ‘शासन श्रम गर्ने जनताको आएन, दलाल पुँजीवादी शासकहरुको आयो यो नै विडम्बना हो । जनताको सत्ता आएन बरु साट्गाठ गरियो । यसकारण जनताले धोका खायो । कुन पार्टी कस्ता हुन भन्ने कुरा विश्लेषकहरुले भनिरहन पर्दैन । अहिले सामान्य नागरिकले पनि विश्लेषण गर्न सक्छन । एकमात्र क्रान्तिकारी पार्टी भनेको नेकपा हो भन्नेकुरा जनतालाई राम्रोसँग थाह छ । अबको राज्य समाजवादी राज्य हो । त्यो नेपाली जनताले ल्याउनु पर्छ । त्यसका लागि सम्पूर्ण कम्युनिस्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक शक्ति एक हुनु पर्ने आवश्यक रहेको छ । अबको नेकपाको नेतृत्वमा देश आउने छ । हामी यसलाई नेतृत्व गछौं ।’
उक्त भेट्घाटको सहजीकरण नेकपाका केन्द्रीय सदस्य तथा दैलेख इन्चार्ज विवेक सीले गरेका थिए भने भेटघाटमा नेकपाका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका अध्यक्ष दिनेश सी, केन्द्रीय सदस्य अर्जुन सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । भेट्घाटको क्रममा स्थानीय व्यापारी र राजनैतिक दलका कार्यकर्ता लगायतका सहभागीहरुले कम्युनिस्ट एकता अनिवार्य भएको र नेकपाको नेतृत्व देख्न चाहेको बताएका थिए ।