समाजवाद अपरिहार्य
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले समाजवाद अपरिहार्य भएको ठोकुवा गरेका छन् । बिहिबार नेकपा सुर्खेतका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाटमा उनले सो कुरा बताएका हुन्।
प्रवक्ता प्रकाण्ड सीले समाजवाद अपरिहार्य भएकाले शान्तिपूर्ण आन्दोलन होस् या सशस्त्र आन्दोलन जहाँबाट भएपनि समाजवादका लागि लड्नु पर्ने बताए । उनले समाजवाद ल्याउन जस्तो सुकै बलिदान गर्न पनि तयार रहेको उद्घोष गर्दै पार्टीका नेता – कार्यकर्ता जनभावना अनुरुप चल्नु पर्ने बताए ।
प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीवाद भनेको लुटेराहरुको कुर्सीको खेल गर्ने सत्ता भएको बताउदै भने – ‘दलाल पुँजीवादी सत्ता जनताको सत्ता होइन, यो सत्ता भनेको दलालहरुको कुर्सीको खेल गर्ने सत्ता हो । यो उनीहरुको यन्त्र हो । यो दलाल पुँजीवादको अन्त्य नगरेसम्म समाजवाद नआउने र जनताले सुख नपाउने निश्चित छ ।’
प्रवक्ता प्रकाण्ड सीले दलाला पुँजीवाद रहेसम्म नेपाली जनताको समस्या कहिल्यै पनि समाधान नहुने ठोकुवा गरे । उनले जनताको समस्या समाधानका लागि नेपालमा वैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवाद अनिबार्य भएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले संसदवादीहरुको सत्ता स्वार्थका कारण नेपाली स्वाभिमानी जनताको सरकारबाट आसा गर्ने ठाउँ नरहेको बताउदै भने – ‘अस्थिरताको कारकतत्व भनेको दलाल पुँजीवादी व्यवस्था हो, यो दलाल राज्यव्यवस्थावाट इमान्दार एमाले र कांग्रेसका नेता कार्यकर्ता पनि सन्तुष्टि रहेको देखिदैन । केपी ४ पट्क प्रधानमन्त्री भए देशको हालत खराव छ । हाम्रो देशमा धेरै प्रधानमन्त्री हुने तर देश कंगाल हुने गरेको छ । ‘नेपाली जनतालाई दुईवटा विकल्प चाहिएको छ । एक देशमा नेपाली विशेषताको समाजवाद र अर्को यो देशमा नेकपाको नेतृत्व चाहिएको छ । आजको सहि निश्कर्ष यहि मात्र उपयुक्त हुन सक्छ । एकपटक नेपालमा समजवाद ल्याउन जनताले शान्तिपूर्ण आन्दोलन गर्न आवश्यक रहेको छ । पार्टी समाजवादमा जानको लागि जनतासंग जान तयार हुन आवश्यक छ ।’
प्रवक्ता प्रकाण्ड सीले प्रचण्डले मोदीलाई भेटेपछि सरकार ढाल्ने खेल भएको टिप्पणी गर्दै ओली र शेरबहादुर देउवाको गठबन्धन सरकार पनि कति दिन चल्ने भन्ने आयु विदेशीहरुको हातमा रहेको बताए ।
उक्त भेटघाट कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विवेक सी, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी, केन्द्रीय सदस्य अर्जुन सी, सुर्खेत पार्टी सचिव जीत सी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।