नेकपाद्वारा नेपाली विशेषताको समाजवादका लागि कम्युनिष्टहरुबीच ध्रुविकरण गर्ने उदघोष

२०८१ श्रावण १९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले नेपाली विशेषताको समाजवादका लागि कम्युनिष्टहरुबीच ध्रुविकरण गर्ने उदघोष गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालय कपिलबस्तुमा बसेको स्थायी समितिको बैठकले उक्त उदघोष गरेको बताइएको छ ।
उक्त बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले पूर्वमाओबादी र कम्युनिष्टहरुबीच ध्रुविकरण गर्ने र त्यसैको बलमा नेपाली विशेषताको समाजवाद स्थापना गर्दै साम्राज्यवादको हस्तक्षेपलाई निस्तेज बनाउने बताउदै भने- ‘गत बैशाखमा नेकपाको केन्द्रिय समितिको बैठकले गरेको संश्लेषण सहि सावित भएको छ। यतिबेला देशमा साम्राज्यवादको हस्तक्षेप तीब्ररुपले बढेर गएको छ। नयाँ सरकार र गठबन्धनमा पनि साम्राज्यवादको हात रहेको छ। नेकपा माओबादी केन्द्रभित्र अन्तरविरोध चर्केर गएको छ। साम्राज्यवाद सबै पार्टीभित्र प्रवेश गरेर फुटाउने र आफ्नो पक्ष हावी गराउने कार्यमा लागेको छ। ‘
यसैगरी, सोहि बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले देशमा साम्राज्यवादको हस्तक्षेप तीब्ररुपमा बढेको र यसलाई रोक्न जनताले नेकपा र यसको नेतृत्वसंग अपेक्षा गरेको बताए । उनले देशमा साम्राज्यवादको हस्तक्षेप रोक्न माओवादीहरुबीचको एकतालाई तीब्र पार्नु पर्ने बताउदै कम्युनिस्ट र देशभक्त शक्तिहरुबीचको एकता र सहकार्य तीब्र पारेर देशको रक्षा गर्नु पर्ने बताए।
यसैगरी, सोहि बैठकलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित हुनासाथ राष्ट्रिय सहमतिको सरकार गठन गर्ने आश्वासन मोदीलाई दिएको र त्यसको सूचना ओलीले पाउदा प्रचण्ड – ओलीको सम्बन्ध बिग्रिएको बताए। उनले भने – ‘राष्ट्रिय सहमतिको सरकारमा प्रचण्डले ओलीलाई नभएर कांग्रेसलाई सरकारमा ल्याउने रणनीति थियो। बजेट निर्माण गर्दा ओलीसंग सामान्य सहमति र सल्लाह नगर्नुले त्यसको पुष्टि गर्यो । प्रचण्ड नेतृत्वको सरकार ढल्नुमा साम्राज्यवादको चलखेल र प्रचण्डको भूमिका दुवै रहेको छ। पछिल्ला घटनाहरुले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत प्रचण्डलाई कम्जोर बनाउने सम्भावना छ। ‘
शुक्रबार अपरान्हदेखि सुरु भएको उक्त बैठकमा नेकपाका स्थायी समिति सदस्य विषम सी , शिलु सी , भारत सी , सुशील सी र पोलिटब्युरो सदस्य दिपेश सीले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]