‘अबको लडाई साम्राज्यवादसङ्ग’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रदेश इन्चार्ज उमा सी ‘शिलु’ले अबको लडाई साम्राज्यवादसङ्ग हुने बताएकी छन् । बिहिबार नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।
नेता शिलुले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बदलिएको र त्यसले पार्टीको नयाँ भूमिका मागेको भन्दै सबैले भूमिका पूरा गर्न तत्पर हुनुपर्ने बताइन् । उनले वामपन्थी भित्रको दक्षिणपन्थी धारले अहिलेको गठबन्धन र सरकार बनाउन भूमिका खेलेको भन्दै उनले सरकार गठनमा अमेरिका अगाडि देखिएको र अबको लडाई साम्राज्यवादसङ्ग हुने बताइन् । पार्टीले यस अघि नै निकालेको निष्कर्ष विस्तारै पुष्टि भइरहेको भन्दै उनले अब देशभक्त, वामपन्थी, क्रान्तिकारी शक्तिहरुबिच ध्रुवीकरण र एकता आवश्यकता बनेको बताइन् । पार्टी एकताको सन्दर्भमा बोल्दै नेता शिलुले एउटा उद्देश्यसहित नयाँ ढङ्गबाट एकिकृत जनक्रान्तिलाई पूरा गर्नेगरी एकता गर्ने र यसबारे नेतृत्वपङ्तिले गम्भीरतापूर्वक छलफल गरेको बताइन् । यस्तै समाजवादी मोर्चालाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताउदै प्रदेश र जिल्ला समितिलाई सक्रिय भूमिका खेल्न आग्रह गरिन् ।
चुनावबारे बोल्दै उनले क्रान्तिको मोर्चाको रुपमा चुनावलाई उपयोग गर्ने र त्यसले एकिकृत जनक्रान्तिका पाँच आधारलाई पूरा गर्न भूमिका खेल्ने बताइन् ।
यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रमा नेकपा रहेको भन्दै उनले राजनीतिक विचार, उत्पादन, जनताका मुद्दा लगायतका कारण जनताको पार्टीको रुपमा स्थापित भएको छ । पार्टी सङ्गठन निर्माण गर्न अभियानात्मक ढङ्गले लाग्नुपर्ने उनको जोड रहेको थियो ।
उत्पादनले पार्टीको उचाई बढेको भन्दै नेता शिलुले गण्डकी प्रदेश कार्यालयले आफ्नो छोटो समयमा उत्पादनप्रति गरेको उपलब्धी राम्रो रहेको भन्दै प्रदेश कार्यालय सन्चालन र उत्पादनमा सहयोग गरेका सबै कमरेडहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रदेशमा धेरैजस्तो जिल्लाहरु आफ्नो अनुकुलतामा उत्पादनमा लाग्नुभएकोमा जिल्ला नेतृत्वहरुलाई धन्यवाद समेत दिएकी थिइन् ।
बैठकमा पोलिट ब्युरो सदस्यहरु ध्रुव सी, आजाद सी, आस्था सी, केन्द्रीय सदस्यहरु पदम सी, विकिरण सी, नविन सी, उषा सी, सुमन सी, पुर्णजीत सी, कपिल सी, सुशिला सी लगायतले प्रशिक्षण राखेका थिए । पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एव विभिन्न जिल्लाका इन्चार्ज सेक्रेटरीहरुले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ्ग राखेका थिए ।
पार्टीले उत्पादनलाई आम्दानीमुखी बनाउने, सङ्गठन निर्माणलाई महिनाव्यापी अभियान सन्चालन गर्ने, नेपाली विशेषताको समाजवादबारे पालिका र वडास्तरमा अन्तरक्रिया गर्ने, भ्रष्टाचार र लगुवित्त, मिटरब्याजीका विरुद्ध सङ्घर्ष गर्ने लगायत महत्वपूर्ण निर्णयहरु गरेको छ ।
यसैगरी, सोहि बैठकमा प्रदेशको योजना कार्यान्वयन गर्नेदेखि कार्यालय व्यवस्थापन गर्न सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ ।
गण्डकी प्रदेशको प्रथम बैठकको सम्पुर्ण योजनाहरु कार्यान्वयन गरेको, पार्टी पद्दती र अनुशासनमा रही सहि समयमा पार्टी नीतिबमोजिम कार्यक्रमहरु गर्दै परिणाम निकाल्न सफल भएको भन्दै प्रदेशभरीमा उत्कृष्ट कार्यसम्पादन गरेकोमा नवलपूर जिल्ला कमिटीका इन्चार्ज पदम सी र सेक्रेटरी सुमन सीलाई सम्मान गरेको छ ।
यस्तै कास्की जिल्ला पार्टीले प्रदेश कार्यालयको उत्पादन कार्यमा आवश्यक जनशक्ति व्यवस्थापन र नेतृत्व स्वयम् सहभागी भएको भन्दै जिल्ला इन्चार्ज आस्था सी र सेक्रेटरी उमेश सीलाई सम्मान गरेको हो ।
यसैगरी, कार्यालयमा रहेर प्रदेशको निर्णय कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रदेश कार्यालय सचिव विकिरण सीलाई सम्मान गरेको छ । बैठकमा उत्पादन विभागमा रही प्रदेश कार्यालयको उत्पादनमा योजनादेखि कार्यान्वयनसम्म निर्णायक भूमिका निर्वाह गरेकोमा पार्टी केन्द्रीय सदस्य उषा सीलाई सम्मान गरेको हो ।
यस्तै प्रदेश कार्यालयमा आर्थिक व्यवस्थापन साथै उत्पादन र कार्यालय व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै समग्र प्रदेशलाई विशेष सहयोग गरेको भन्दै गोरखा जिल्ला सेक्रेटरी काजी सी र मनाङ सेक्रेटरी विजय सीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
यसैगरी, कार्यालय व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै अखिल (समाजवादी) का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज प्रकाश सी, गण्डकी प्रदेशको सह इन्चार्ज डिबी सी र सचिवालय सदस्य पुरन सीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
यसैगरी, कार्यालयमा रही कार्यालयको सम्पूर्ण योजना (व्यवस्थापन र उत्पादन) मा निरन्तर खटिई महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै युवा सङ्गठन नेपाल गण्डकी प्रदेशको इन्चार्ज विवेक सी, युवा सङ्गठनका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज सन्दिप सी, जनसेवकका सदस्य पार्वती सीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।