कम्युनिष्टहरुबिच ध्रुवीकरण जरुरी
काठमाडौँ । । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले कम्युनिष्ट शक्तिहरु बिचको ध्रुवीकरण जरुरी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी बाँकेको दोस्रो पूर्ण बैठकलाई समोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता विषम सीले
नेपालमा माओवादी कम्युनिष्ट शक्तिहरुबिचको ध्रुवीकरण जरुरी भएको तर अमेरिकी साम्राज्यवादले एकता हुन नदिने चलखेल गरेको ठोकुवा गर्दै भने – ‘ माओवादी एकताको दबाव चर्को छ, माओवादीहरु एकता हुन नदिने डिजाईन साम्राज्यवादको हो । यो डिजाईनमा माओवादीहरु पर्नु हुदैन,यसमा हामी सबै माओवादीहरुले बुझनु पर्छ र एकतालाई जोडदिनु पर्छ ।’
नेता विषम सीले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेलमा साम्राज्यवादी र युरोपियन युनियनहका साथै माओवादी भित्रैबाट पनि एउटा टिम लागेको बताए । उनले अहिलेको गठबन्धन प्रतिगामी दिशामा जान खोजेको पनि बताउदै भने – ‘अहिलेको गठबन्धन त्यति राम्रो होईन, मुख्यगरी यो गठबन्धन साम्राज्यवादले आफ्ना अस्सली दलाल खडा गर्न बनाएको हो । त्यसका लागि संविधान संशोधन गरी सामानुपातिक प्रणाली हटाउने र राष्ट्रिय दल बन्ने थ्रेस होल्ड बढाउने कांग्रेस एमालेको दाउ छ । यो दाउ भनेको नेपालमा एमसीसी र एसपीपी कार्यान्वयन गर्ने र नेपाललाई रणमैदान बनाउने भित्र केन्द्रीत छ । भारत,बेलायत र अमेरिका जस्तो देशमा ठुला दलहरुले मात्र सत्ता कव्जा गर्ने २ पार्टी सिस्टम छ, त्यो सिस्टम नेपालमा लागु गर्न कांग्रेस एमालेले खोजेका छन। यो नेपालको लागि कुनै पनि हालतमा हुन सक्दैन, नेपालमा एमाले साम्राज्यवादी दबावले प्रतिगामी दिशातिर जान खोजेको छ, तर सवै पार्टी भित्र अन्तरविरोध छ, अहिलको गठबन्धन सरकारमा कांग्रेस भित्रै र एमाले भित्र पनि असन्तुष्टि देखिएका छन ।’
नेता विषम सीले पार्टीलाई जनतासंग जोडनका लागि विशेष ध्यान दिन आग्रह गर्दै आर्थिक विषयलाई मात्र केन्द्रविन्दु नबनाई संगठन निर्माणमा विशेष ध्यान दिन निर्देशन दिए ।
उक्त बैठकमा नेकपाका पिविएम तथा बाँके जिल्ला इन्चार्ज रक्तिम सी, केन्द्रीय सदस्य शेखर सी र नारायण सीले पनि मन्तव्य राख्दै पार्टीलाई जनतातिर फर्काउनु पर्नेमा जोड दिएका थिए । नेकपा बाँकेका जिल्ला सेक्रेटरी कल्पना सीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सदस्यहरुको सहभागीता रहेको थियो ।