‘वैज्ञानिक समाजवादको विकल्प छैन’

२०८१ श्रावण २८ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले नेपालमा वैज्ञानिक समाजवादको विकल्प नभएको ठोकुवा गरेका छन्। आइतबार नेकपा बर्दियाको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता सन्तोष सीले सभ्य तथा शोषणरहित समाजको अन्तिम विकल्प समाजवाद नै भएको ठोकुवा गर्दै भने- ‘वैज्ञानिक समाजवाद भन्दा अर्को विकल्प छैन, यो व्यवस्था नै समाज विकासको उत्कृष्ट व्यवस्था हो, अहिलेको संकटको निकास पनि समाजवादबाट मात्र निकाल्न सकिन्छ ।’
उनले वर्तमान दलाल संसदीय व्यवस्थाको आयु छोटिदै गएको र समाजवादका ढोकाहरु दृष्टि क्षितिजमा खुल्दै गएको बताउदै वैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवादको लागि सिंगो पार्टी पंक्तिलाई एक भएर जनतामा जान निर्देशनसमेत दिए ।
नेता सन्तोष सीले जनतामाथि शोषण र दमन मच्चाइरहने दलाल तत्वहरुका विरुद्ध संघर्ष बढाउन आग्रह गर्दै भने – ‘दलालतत्वहरु टाउको उठाइरहेका छन्, मजदुर, किसान र सुकुम्बासीलाई झन् भन्दा– झन् गरिब बनाउँदै उठिबास लगाइएको छ, अर्कोतिर मिटर ब्याजी, लघुवित्त र बैंङ्कको चर्को ब्याजले जनता पीडित छन्, यस विरुद्ध कडा संघर्ष गर्नु होस् ।’
उक्त बैठकमा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हिमशिखर सीले जिल्लाको आत्मगत/वस्तुगत अवस्थाकोबारे विश्लेषण गदै पार्टी योजना जनतामा पुर्याउन आग्रह गरे ।
उक्त बैठक पार्टी जिल्ला सेक्रेटरी टिकाराम सीको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]