‘अमेरिकाले आफ्नो स्वार्थ अनुकूल नचले हसिनाको हालत बनाउँछ’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बंगलादेशमा शेख हसिना सत्ताच्युत हुनुका पछाडि अमेरिकाको हात रहेको बताएका छन् । मङ्गलबार जनपत्रिका अनलाइनसँग कुरा गर्दै महासचिव विप्लवले हसिनाको सत्ता गुम्नुमा अमेरिकाको मुख्य हात रहेको बताएका हुन् ।
महासचिव विप्लव सीले पुँजीवादी मुलुकहरुले विश्वका गरिब तथा अविकसित देशहरुलाई जनताको इच्छा विपरित चलाउने गरेको र बंगलादेशको घटना यसकै निरन्तरता भएको बताउदै भने- ‘गरिब तथा अविकसित देशहरु पुँजीवादीहरुको हित अनुकूलका काम गरेर जनताको इच्छा विपरितका काम गरिरहेका हुन्छन् । शेख हसिनाले त्यो गरिनन् । अमेरिकाले सैन्य क्याम्प राख्न गरेको प्रस्ताव अस्वीकार गरेका कारण आफूले देश छाड्न परेको हो । उनी आफैले यो बताएकी छन् ।’
महासचिव विप्लव सीले हसिनाको सत्ता ढल्नुमा केही आन्तरिक कारण पनि रहेको बताउदै भने- ‘त्यहाँका युवा विद्यार्थी राष्ट्रवादी शक्तिहरूलाई चिड्याउने गरेको र उनीहरुको चाहनाहरुलाई सम्बोधन नगर्नुले विद्रोह हुनु आन्तरिक पक्ष हो । त्यहाँ हुने असन्तुष्टिको फाइदा लिएर साम्राज्यवादी शक्तिहरुले सामरिक महत्व बोकेको सेण्ट मार्टिन टापुमा आइपीएस अन्तर्गत आफ्नो सेना राख्न चाहेको र हसिनाले अमेरिकी प्रस्तावलाई अस्विकार गर्दै बिआरआईसँग हात मिलाउन खोजेपछि अहिलेकाे परिस्थिति आएको हो । साम्राज्यवादले देशभित्रको असन्तुष्टि र अस्थिरताको फाइदा उठाएर त्यो राष्ट्रमा आफ्नो दबदबा बढाउने गर्छ । त्यसको सिकार अहिले बंगलादेश भएको छ । जसरी हसिनालाई अमेरिकाले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न खोज्यो, त्यसको थोरै पर हसिना गइदिदा आज आफैले विश्वास गरेको प्रतिनिधिलाई समेत साम्राज्यवादले सत्ताच्युत गरेर सडकमा पुर्याउने, जेल हाल्ने समाप्त पार्ने र मार्नेसम्मको काम गर्दै आएको देख्छौं । त्यसको शिकार बंगलादेश भयो ।’
यसैगरी, महासचिव विप्लव सीले आफ्नो देशमा संचालित नीति निर्माणको जिम्मा आन्तरिक रुपमा नै गर्नु पर्ने र नेपाली जनताकै स्वच्छ प्रतिनिधि, जनताकै स्वच्छ निर्णय नेपालकै पार्टीहरु जसले नेपालको परिवर्तनका निम्ति त्याग खुन पसिना बगाएर काम गरिरहेका छ्न् उनीहरुकै बुद्धि विवेकमा देशलाई चलाउनु पर्ने बताए । उनले नेपालले सिक्नुपर्ने पाठबारे अझ प्रस्ट पार्दै भने- ‘यहाँका जानकारहरु, बुद्धीजिविहरु, देशभक्तहरु, युवा विद्यार्थीहरु आउँदै गरेका पुस्ताहरुलाई कुनैपनि विदेशीहरुको उक्साहटमा लाग्न दिनु हुँदैन । अरुले दिएको पुरस्कारमा देश दाउमा राख्नु हुन्न भन्ने सिक्नु पर्छ । साथै विश्वका सबै देशहरुसँग सहकार्य चाँहि गर्नुपर्छ । आफ्नो देशको स्वाभिमानलाई केन्द्रमा राखेर सहकार्य गर्नुपर्छ । कसैको पनि कठपुतली बन्नु हुन्न भन्ने नेपालीको दिमागमा हुन जरुरी छ ।’ – शाहस भट्ट