नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेता र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुटारमा भएको उक्त भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा देशको समग्र राजनीतिक स्थिति र जटिल अवस्थाबारे गम्भीर छलफल हुनुका साथै तत्कालिन ओली नेतृत्वको सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति कार्यान्वयनका बिषयमा छलफल भएको बताइएको छ ।
उक्त भेटमा प्रधानमन्त्री ओलीले सरकार देशको समग्र राजनीतिक स्थिति र नेकपासंग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न सकारात्मक भएको बताएका थिए।
स्मरणीय छ , तत्कालिन ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो भने २०७७ फागुन २१ गते दिनको २ बजे विशेष समारोह गरी नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको सार्वजनिक गरिएको थियो ।

उक्त सहमतिमा नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्ने , नैपाल कम्युनिष्ट पार्टी आफना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्ने र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन ,कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सपूर्ण मुद्दाहरु खारेज गर्ने सहमत भएको थियो ।
उक्त सहमतिको नेकपाले अक्षरश: पालना गरेपनि सरकारले पालना गरेका छैन। जसका कारण अहिले पनि नेकपाका दर्जनभन्दा बढी नेता – कार्यकर्ता जेलमा छन् भने दर्जनौले झुठा मुद्दा खेपिरहेका छन्।