‘मधेशी जनतालाई मधेशी दलहरुले नै उत्पीडनमा पारेका छन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले मधेशी जनतालाई मधेशी दलहरुले नै उत्पीडनमा पारेको ठोकुवा गरेका छन्। नेकपा बाराद्वारा आयोजित ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता अनिल सीले केही समय अगाडिको पर्साको घटना स्मरण गर्दै बिन्दवासिनी गाउँपालिकामा जनता मधेसी नै छन्। मेयर मधेसी नै छ तर त्यहाँको बस्ती मेयरको आदेशमा भत्काइयो । अनि कसले दमन गर्यो त ? भन्दै जनतालाई जातको आधारमा, धर्मको आधारमा क्षेत्रियताको आधारमा एकआपसमा भिडाएर समस्याको मूल प्रवाहबाट बाहिर राखेर मधेसी दलहरुबाट नै शोषण/ दमन गरिरहेको बताए ।
नेता अनिल सीले क्रान्तिकारी विचार र नेतृत्वको आधारमा कम्युनिस्टहरुबिच ध्रुवीकरण हुनुपर्ने बताउदै आफुहरु एकता विरोधी नभएको तर एकता सत्ता, शक्तिको लागि नभई समाजवादको लागि हुनुपर्ने दाेहाेर्याए । उनले सबै पार्टीभित्र रहेका इमानदार, देशभक्त, क्रान्तिकारीहरुलाई नेकपामा ध्रुविकृत हुन आह्वानसमेत गरे ।

नेकपा बाराद्वारा आयोजित उक्त ध्रुवीकरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य राम एकवल पटेलसहित ५ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले अविरमाला लगाएर स्वागत गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका बारा जिल्ला इन्चार्ज बीपी सीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य अनिल सी, अतिथिहरुमा केन्द्रिय सदस्य पवन सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य द्वय जनक सी र फिरोज सी र अखिल (समाजवादी) का केन्द्रिय सचिव अटल सी रहेका थिए ।कार्यक्रमको संचालन नेकपा बाराको सेक्रेटरी दिल सीले गरेका थिए ।