वर्तमान राजनीतिक अस्थिरताको कारक अमेरिकी हस्तक्षेप

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले वर्तमान राजनीतिक अस्थिरताको कारक अमेरिकी हस्तक्षेप भएको ठोकुवा गरेका छन्। बिहीबार नेकपा कञ्चनपुरको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता भरत सीले अमेरिकी हस्तक्षेप र नेपाली सत्ता संकटको कारण नै वर्तमान अस्थिरता बढेको बताए । उनले बंगलादेशको उदाहरण दिँदै त्यहाँ पनि बाहिरी रुपमा जनताले निरङ्कुश सत्ता ढालेको देखिएतापनि भित्री अन्तर्य भने अमेरिकाको खेल रहेको बताए ।
नेता भरत सीले अमेरिका नेपालमा एमसीसीमार्फत नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त गर्ने र अर्को चीनको उदयतालाई रोक्ने दुई उद्देश्यले आएको उल्लेख गर्दै अमेरिकी हस्तक्षेप नेपाली जनताको मुख्य अन्तरविरोध हो भनेर नेकपाले अगाडि नै निकालेको निष्कर्ष पछिल्ला घटनाक्रमले सावित भएको बताए ।
नेता भरत सीले नेपालको सन्दर्भमा वर्तमान परिवेशमा राष्ट्रिय रूपमा विद्यमान रहेको जनताको निराशालाई चिर्ने काम नेकपाले गरिरहेको बताउदै भने- ‘पार्टीले गरेको संश्लेषण सही साबित भएको र पार्टीप्रति जनआकर्षण बढेको छ । त्यसै अनुरूप पार्टीले आगामी चुनावलाई नयाँ तरिकाले प्रयोग गर्ने नीति लिएको छ ।’
नेता भरत सीले समाजवादको स्थापना गर्न र जनताको हितमा काम गर्न विचार मिल्ने पार्टीसँग एकता गर्ने वस्तुगत आवश्यकता रहेको समेत बताए ।
नेकपा कन्चनपुरका सचिव दिवार सीको अध्यक्षतामा बसेको उक्त बैठक अन्तरकृया कार्यक्रम गर्ने, संगठन सुदृढीकरण गर्ने, जिल्ला पार्टीका सदस्यहरूलाई आय आर्जनसंग जोड्ने लगायतका विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।