मङ्सिर ८ श्रमजीवी वर्गको ऎतिहासिक दिन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले मङ्सिर ८ गते श्रमजीवी वर्गको ऎतिहासिक दिन भएको बताएका छन् । बुधबार सो पार्टीनिकट जनवर्गीय संगठन तथा मोर्चाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले मङ्सिर ८ गते श्रमजीवी वर्गको पार्टी नेपाल कम्युनिस्ट पार्टी पूनर्गठन भएको उल्लेख गर्दै सो कुरा बताएका हुन्।

प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीले आफूलाई राष्ट्रिय स्वाधीनताको पक्षमा खरो उभ्याउदै पार्टी पूनर्गठन दिवसको अवसर पारेर वैदेशिक हस्तक्षेपबिरुद्ध राजधानीमा बृहत् प्रदर्शनसहित सभा गर्न लागेको बताउदै पार्टी पूनर्गठन दिवस ऎतिहासिक पर्वका रुपमा मनाउने गरी तयारी गर्न बैठकमा सहभागी नेताहरुलाई निर्देशन दिए ।

प्रवक्ता प्रकाण्ड सीले नेकपा पूनर्गठन भएको दिनलाई ऐतिहासिक दिनको रूपमा स्मरण गर्दै मङ्सिर ८ गते नेपालका मजदुर, किसान , मध्यमबर्गलगायत क्रान्तिकारी जनताले आफ्नो पार्टी, बिचार र संगठन पूनर्गठन गरेको विशेष दिन भएको भन्दै उत्सवको रुपमा मनाउनु पर्ने बताए । उनले देशमा साम्राज्यवादी शक्ति र दलाल पुँजीपतिवर्गको हर्कतले सीमा नाघेको र राष्ट्रिय स्वाधीनताको पक्षमा एक हुनुपर्ने बेला आएको बताउदै मङ्सिर ८ गतेपछि पार्टी जनसंघर्षमा उत्रने संकेत दिए ।
