‘साम्राज्यवाद विभिन्न मोर्चा खोलेर नेपाल आएको छ’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवाद विभिन्न मोर्चा खोलेर नेपाल आएको ठोकुवा गरेका छन् । सोमबार जनपत्रकार संगठन नेपालका उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्धको मोर्चामा सम्पूर्ण क्रान्तिकारी र कम्युनिस्ट गोलबद्ध हुनुपर्ने बताउदै त्यसलाई चिर्न नेकपा एमाले पनि मोर्चामा आउनु पर्ने बताए । उनले देशभित्र दलाल पुँजीवादविरुद्ध लड्न र देशबाहिर साम्राज्यवादसँग लड्ने मोर्चाका रुपमा समाजवादी मोर्चा बनेको बताउँदै त्यो मोर्चामा एमाले आउनै पर्ने बताउदै भने- ‘अहिले साम्राज्यवाद विभिन्न मोर्चा खोलेर नेपाल आएको छ । त्यो कुरा एमालेले बुझ्नु पर्छ । एमाले जस्तो एउटा विरासत बोकेको पार्टीलाई सामान्य व्यक्तिले समेत थ्रेड दिने विषय सामान्य होइन् ।’, प्रवक्ता प्रकाण्ड सीले काठमाडौँमा मेयर बालेन शाहप्रति लक्षित गर्दै भने- ‘त्यसमा दलाल पुँजीवाद र साम्राज्यवादको भूमिका छ भन्ने कुरा एमालेले समयमै बुझ्नु पर्छ ।’
प्रवक्ता प्रकाण्ड सीले नेपालका संसदवादी दलहरुबाट आफ्नो अभिष्ट पुरा हुन नसकेपछि साम्राज्यवाद व्यक्तिमा गएको जिकिर गर्दै रवि लामिछाने र बालेन शाहहरु लगायत व्यक्तिहरु त्यसको उदाहारण भएको बताए । उनले नेपाल कम्युनिस्ट पार्टी दलाल पुँजीवाद र साम्राज्यवादसँग लडेर यहाँसम्म आएको बताउँदै मोर्चामा नआए एमाले झन् कमजोर हुने बताए ।
प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीवाद र साम्राज्यवादसँग लड्नका लागि एकीकृत जनक्रान्तिको वैचारिक हतियार मजुबँद हुँदै गएको उल्लेख गर्दै ७५ बर्षदेखि नेपालमा हुन नसकेको क्रान्ति नेकपाले पुरा गर्ने ठोकुवा गर्दै भने- ‘साम्राज्यवाद चौतर्फी मोर्चाबन्दीमा आएको छ । हामीले पनि चौतर्फी रुपमा एकीकृत जनक्रान्तिको मोर्चा खोलेका छौँ । यो मोर्चा नै नेपालमा हुन नसकेको क्रान्ति पुरा गर्न सक्षम रहेकोछ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नेपालका कम्युनिस्टहरु इमान्दार नभएकाले समयमा समाजवादी क्रान्ति सम्पन्न नभएको ठोकुवा गर्दैै यसमा वैचारिक कारण पनि रहेको बताए । उनले भने- ‘रुसमा, चीनमा विश्वका अरु देशमा छोटो समयमा क्रान्ति सम्पन्न भएको इतिहास छ । नेपालमा ७५ बर्षसम्म पनि किन क्रान्ति हुन सकेन ? यो विषयमा नेकपाले ठूलो वहस गरेर निश्कर्ष निकालेको छ । पुरानो तरिकाले क्रान्ति सम्भव छैन भन्ने निश्कर्षसहित हामीले नयाँ विचार दिएका छौँ । साम्राज्यवादलाई यो विषयले निद हराम भएको छ । हामी इमान्दार छौँ, हामी विचारमा नयाँ, संघर्षमा नयाँ छौँ । त्यही भएर समयै क्रान्ति सम्पन्न गछौँ ।’