‘दलाल पूँजीपतिहरुको संसदीय व्यवस्थाले देश र जनताको दुर्दशा गरायो’

२०८१ मंसिर २३ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा वागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले दलाल पूँजीपतिहरुको संसदीय व्यवस्थाले देश र जनताको दुर्दशा गराएको ठोकुवा गरेका छन् । सो पार्टीको  गतआइतबार बसेको वाग्मती प्रदेश सचिवालयको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।

प्रवक्ता प्रकाण्ड सीले हाल जनताको त्याग, तपस्या, बलिदान र आन्दोलनको मुद्दा र जनताको परिवर्तनको चाहनाविरुद्ध कार्य भइरहेको बताउँदै वर्तमान दलाल पूँजीपतिहरुको संसदीय व्यवस्थाकै कारण महंगी बढिरहेको, भ्रष्टाचार र कमिशनको बेलगाम खेल चलिरहेको बताए । उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र असफल भएको ठोकुवा गर्दै नेपाली विशेषताको समाजवाद अनिवार्य भएको बताए ।

उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेपालको माओवादी आन्दोलन ०६२–६३ मा   संसदवादमा प्रवेश गरेपछि क्रान्ति र क्रान्तिकारी पार्टीमा पैदा भएका गम्भीर बैचारिक, राजनीतिक समस्या समाधानका निम्ति प्रचण्ड र त्यसपछि किरणसँगको संघर्षको परिणाम र सफलता प्राप्त गरेको दिनको प्रतिनिधित्व गर्ने ऐतिहसिक पार्टी पुनर्गठनको दिन मंसिर ८ गते भएको बताए । उनले मंसिर ८ गते नेपालका माओवादी क्रान्तिकारीहरु र कम्युनिस्ट  क्रान्तिकारीहरुले दलाल संसदवादका विरुद्ध विद्रोह गरेर श्रमिक वर्गको पार्टी गठन गरेको दिन भएको उल्लेख  गर्दै मंसिर ८ गते  नेपालका उत्पीडित जनसमुदायले आफ्नो राजनीतिक पार्टी, बिचार, राजनीतिक कार्यक्रम र नेतृत्व प्राप्त गरेको दिन भएको ठोकुवा गरे । उनले यस अर्थमा मंसिर ८ गते नेपालको राजनीतिक आन्दोलन र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा एउटा महान, ऐतिहासिक र गौरवपूर्ण दिन भएको बताए ।  

यसैगरी, उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले मंसिर ८ गतेको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा आयोजना गरेको पार्टी गठन दिवस हजारौं जनताको उपस्थितिमा भव्य र सानदाररुपमा सम्पन्न भएको उल्लेख गर्दै उक्त कार्यक्रम राष्ट्रियरुपमा हस्तक्षेपकारी र आमजनतालाई आशावादी र अभिप्रेरित गर्ने, नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुलाई उद्देलित बनाउने र थप जिम्मेवारी बोधको महसुस गराउने कार्यक्रमको रुपमा सम्पन्न भएको बताए । उनले  मंसिर ८ गतेको पार्टी पुनर्गठन दिवसको कार्यक्रमले विश्वका सबै श्रमिक जनतालाई क्रान्तिकारी र सानदार सन्देश दिएको भन्दै उक्त कार्यक्रमले दलाल पूँजीपति र साम्राज्यवादीलाई त्रसित र आतंकित बनाएको बताए । 

यसैगरी प्रवक्ता प्रकाण्ड सीले पार्टी पुनर्गठन दिवसको कार्यक्रम आफैँमा जनसंघर्ष र राजनीतिक विद्रोहको प्रतिनिधित्व गर्ने राष्ट्रिय कार्यक्रमको रुपमा सम्पन्न भएको बताउँदै सी संस्कृतिको विकास र त्यसको अभ्यास गरिराखेको नेपाल कम्युनिस्ट पार्टी नेपालका क्रान्तिकारी कम्युनिस्ट र नेपाली जनताको निम्ति   मंसिर ८ गते एउटा महान पर्वको रुपमा स्थापित भएको बताए ।

 यसैगरी प्रवक्ता प्रकाण्ड सीले मंसिर ८ गतेको कार्यक्रममा जुलुस प्रदर्शन, त्यसको व्यवस्थापन र जनताको सहभागिता अभूतपूर्ण, ऐतिहासिक र भब्य रहेको बताउँदै उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीद्वारा व्यक्त पार्टीका बिचारले अहिलेको देशको वस्तुगत अवस्थाको सजीव चित्रण र त्यसको समाधानको निम्ति वैज्ञानिक समाजवादी व्यवस्थाको अपरिहार्यतालाई प्रष्ट पारेको बताए । -क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

[anycomment]