वर्तमान संकट समाधानको एकमात्र बिकल्प नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान संकट समाधानको एकमात्र बिकल्प नेपाली विशेषताको समाजवाद भएको बताएका छन् । सोमबार जनपत्रकार सङ्गठन नेपालले काठमाडौँमा आयोजना गरेको सङ्गठनको तर्फबाट नेपाल पत्रकार महासंघमा निर्वाचित उम्मेदवारलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले जनतामा व्यापक निराशा रहेको बताउँदै उक्त निराशा चिर्नका लागि नेकपाले नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याएको बताए । उनले भने- ‘समाजवाद अमूक पार्टीको कार्यक्रम होइन, यो त जनताको निराशालाई चिर्ने कार्यक्रम हो । नेपाली जनताको निराशालाई चिर्न हामीले नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याएका छौँ ।’
महासचिव विप्लव सीले देश उकुसमुकुस भएका बेलामा भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले विशेष निर्णय गर्दै निकासको बाटो दिएको बताए ।।
उक्त कार्यक्रममा महासचिव विप्लव सीले निर्वाचनमा विजयी उम्मेदवारलाई अभिनन्दन गर्दै सफलताको शुभकामना दिएका थिए । अभिनन्दित हुनेहरुमा काठमाडौँ जिल्लाबाट केन्द्रीय पार्सदमा निर्वाचित शोभराज बराल, उपत्यका प्रदेश समिति सदस्यमा निर्वाचित रणसुर महतरा, प्रतिष्ठान प्रदेश समिति सदस्यमा निर्वाचित हरिकृष्ण न्यौपाने, ललितपुर जिल्ला समिति सदस्यमा निर्वाचित कुशल बोगटी, काठमाडौँ जिल्ला समिति सदस्यमा निर्वाचित हेम सुवेदी र भक्तपुर जिल्ला समिति सदस्यमा निर्वाचित पुस्पा साउद रहेका छन् ।
गत मंसिर २८ गते प्रदेश जिल्ला र केन्द्रको निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा संगठनको तर्फबाट हुम्ला जिल्ला सह–सचिवमा भक्तराज ऐडी, सल्यान जिल्लाको कोषाध्यक्षमा खकेन्द्र केसी र दाङ जिल्ला समिति सदस्यमा जङ्ग रेउलेसमेत निर्वाचित भएका थिए ।