चुनाव पनि संघर्षकै मोर्चा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले क्रान्तिकारी कम्युनिस्टका लागि चुनाव पनि संघर्षकै मोर्चा हुने दाबी गरेका छन् । सोमबार जनप्रचार तथा प्रकाशन विभाग अन्तरगत साधारण शाखाको नवौँ बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता अनिल सीले नेकपाले चुनावमा जाने निर्णय गरेपछि संसदीय पार्टी बनेको आरोप लागिइरहेका बेलामा चुनावलाई आफ्नो पार्टीले संघर्षको मोर्चाका रुपमा प्रयोग गर्न खोजेको बताए । उले भने- ‘हामीले जड्सुत्रबाट बाहिर निक्लिएर केही नयाँ सोच्नुपर्छ । चुनाव बहिस्कार र प्रयोग मात्र होइन, यसलाई संघर्षको मोर्चाको रुपमा पनि खुल्ला गर्नुपर्छ । हामीले यो पटक कम्युनिस्टका परम्परागत नजिरलाई तोड्दै नयाँ गर्न खोजेका छौँ ।’
नेता अनिल सीले नेकपाले पार्टी दर्ता गरेर चु्नावमा जाने निर्णय गरेको भन्दै पार्टीले संघर्षको नयाँ मोर्चा खोलेको बताए । उनले भने- ‘साम्राज्यवाद चौतर्फी मोर्चाबन्दीमा आएको छ । हामीले एउटा मोर्चा खोल्ने र अर्को मोर्चा बन्द गर्दा जित्न सकिदैन । त्यहि भएर नेकपाले पनि चौतर्फी मोर्चा खोलेको छ । हामीले जित्नका लागि साम्राज्यवादभन्दा एक स्टेप अगाडिबाट सोच्नुपर्छ ।’
नेता अनिल सीले साम्राज्यवादले आफ्नो मिसन पूरा गर्न कम्युनिस्टलाई प्रयोग गर्ने, पार्टी बनाइ दिनेदेखि विभिन्न हर्कत गरेको बताउँदै आफ्नो पार्टीले सम्पूर्ण मोर्चा खोलेर साम्राज्यवादका विरुद्ध संघर्ष गरिरहेको बताए ।
उत्कर्ष सीको अध्यक्षतामा बसेको बैठकले राजनीति, संगठनमा महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा अनिल सीको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्री सदस्य तथा शाखा इन्चार्ज सञ्जिव सीको उपस्थिति रहेको थियो ।