‘नेपाली विशेषताको समाजवादका लागि सम्पूर्ण क्रान्तिकारी मिल्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवाद स्थापना गर्न सम्पूर्ण क्रान्तिकारी मिल्नुको विकल्प नरहेको बताएका छन् । शनिबार आयोजित कम्युनिष्ट क्रान्तिकारीहरुबीचको ध्रुबीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले देश संक्रमणवाट गुज्रिएको बताउदै यसवाट देश र जनतालाई मुक्त पार्न नेपाली विशेषताको समाजवादको बिकल्प नभएको बताए। उनले यो देश स्वाधीन होस् भन्ने जनताको चाहना पुरा नभएको ठोकुवा गर्दै यसको निम्ति नेपाली विशेषताको समाजवाद अनिबार्य भएको बताए।
महासचिव विप्लव सीले यो देश र जनताको मुक्तिको लागि देशको नेतृत्व र जनताको सेवा गर्न तयार भएको बताउदै यसकै निम्ति क्रान्तिकारी बिचको ध्रुविकरणलाई तिब्रता दिएको बताए । उनले भने- ‘यो एकता कुनै दरबार खानको लागि होइन, कुनै टि–स्टेट खानको लागि पनि होइन, सरकारको जग्गा हिनामिना गर्न पनि होइन । कुनै मन्त्री भएर यो देशको पैसा विदेशमा लुकाउन होइन ।’

यसैगरी, महासचिव विप्लव सीले वैज्ञानिक समाजवादतिर जाने उद्देश्य प्राप्तिका लागि आजको संकटग्रस्त व्यवस्था फाल्न जरुरी रहेको बताए । उनले विदेशीहरुसँग भिख मागेर बाँचेको व्यवस्था बदल्नुपर्ने बताए ।
महासचिव विप्लव सीले माओवादीहरु एक हुनुपर्ने आवश्यकता औंल्याउँदै भने- ‘हामीले भनेका छौं, फेरिपनि माओवादी सहयात्रीहरु सबै तयार बनौं । हामी धेरै छौं, एक जना कमरेडले डायरीमा टिप्नुभएको रहेछ, माओवादीमात्रै १९ वटा भङ्गालामा छन् भन्ने कुरा उहाँले सुनाउँदै हुनुहुन्थ्यो । हामी एक हुनुपर्छ । नेपाललाई समाजवादतिर लैजाने सपना हामीले मर्न दिनुहुँदैन ।’
यसैगरी , महासचिव विप्लव सीले कुनैपनि स्वार्थको अगाडि नेपाली जनताको सपना बेचिन नहुने बताए । उनले अहिले केही हदसम्म जनताको चाहना धर्ममराएको जस्तो देखिएको उल्लेख गर्दै जनताको चाहना धर्ममराउन आफूहरुले नदिने बताए । उनले जनताको लागि आफूहरु गोरुजस्तो भएर जोतिन तयार रहेको पनि बताए।

यसैगरी , उक्त कम्युनिष्ट क्रान्तिकारीहरुबीचको ध्रुबीकरण कार्यक्रमको संचालन गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीेले एकीकृत जनक्रान्तिको बिद्रोहलाई कसैले रोक्न नसक्ने बताए। उनले देश र जनताले नेकपाको नेतृत्व खोजिरहेको ठोकुवा गर्दै एकीकृत जनाक्रान्तीमार्फत नेपाली विशेषताको समाजवाद स्थापना गरेरै छाड्ने उद्घोष समेत गरे।
उक्त कम्युनिष्ट क्रान्तिकारीहरुबीचको ध्रुबीकरण कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीलागायत दर्जनौ नेता नेकपामा ध्रुविकृत भएका थिए।