नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच एकता

२०८१ पुष २१ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच शनिबार एकता भएको छ । नेकपाका महासचिव विप्लव सी क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीले संयुक्त वक्तव्य जारी गर्दै सो एकता सम्पन्न भएको घोषणा गरेका हुन् । उक्त कार्यक्रममा नेकपाका महासचिव विप्लव सी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीको हस्ताक्षरमा जारी गरिएको संयुक्त बिज्ञप्ति यस प्रकार रहेको छ -‘हामी नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोही बीच ऐतिहासिक महत्वको एकता धु्रवीकरण सम्पन्न भएको घोषणा गर्दछौं । क्रान्तिकारी कम्युनिस्ट शक्तिबीचको यो एकता घोषणा गर्न पाउँदा हामी अत्यन्त हर्षित एवं उत्साहित भएका छौं ।
साम्राज्यवादी हस्तक्षेप एवं दलाल पुँजीवादको स्वयच्छाचारिता विरुद्ध श्रमिक जनताले संघर्ष गरिरहेको वस्तुस्थितिमा क्रान्तिकारी शक्तिहरु बीचको एकता, धु्रवीकरणको जिम्मेवारी बोध गर्दै यो एकतामा सहभागि हुनुभएका पार्टी केन्द्रीय समिति, प्रदेशसमिति, जिल्लासमिति, मजदुर, युवा, विद्यार्थी, महिला, श्रमिक समुदाय, किसान, मोर्चाका सम्पूर्ण कमरेडहरुलाई न्यानो स्वागत गर्दछौं ।
हामी एकतामा आबद्ध भएका पार्टी र कमरेडहरु मालेमावाद, एकीकृत जनक्रान्ति, नेपाली विशेषताको समाजवाद—वैज्ञानिक समाजवाद—साम्यवादमा विश्वास राख्दछौं । हामी देशको स्वाधीनता, उत्पीडित श्रमिकवर्ग, जाति, समुदाय, महिला, युवा, राष्ट्रिय उद्यमीहरुको अधिकार, समानता, संमृद्धि चाहन्छौं । हामी पुरानो सडेगलेको दलाल पुँजीवादी सत्तालाई ढाल्न र जनताको सत्ता स्थापना गर्न प्रतिबद्ध छौं ।
यतिवेला देश भूमण्डलीकृत पुँजीवाद विशेषतः अमेरिकी साम्राज्यवादको हस्तक्षेपमा छ । नेपाली दलाल पुँजीवादी सत्ता दलाली, चरम भ्रष्टाचार, कमिसानखोरी, तस्करी, अराजकतामा डुबेको छ । युवाहरुलाई योजनाबद्धरुपले पलायन गरिदैछ । अर्कोतिर श्रमिक जनता, शिक्षितवर्ग, राष्ट्रिय उद्योग व्यवसायीले यो अवस्थाबाट परिवर्तन चाहेका छन् । परिवर्तनको नेतृत्व अग्रगामी, देशभक्त, क्रान्तिकारी शक्तिले एकताबद्ध भएर गरुन भन्ने छ । त्यस्तै एकीकृत जनक्रान्ति, जनयुद्धका महान सहिद तथा वेपत्ता योद्धा परिवार, घाइते योद्धाहरुको चाहना पनि क्रान्तिकारीहरु एकताबद्ध भएर क्रान्ति सम्पन्न गरुन भन्ने छ । सत्तामा अनेकौं शक्तिको प्रयोग र विफलताले जनचाहनाको नेतृत्व गर्ने जिम्मेवारी नेकपाको काँधमा आएको छ । यो अवस्थामा सम्पन्न हाम्रो एकता देश र जनताका लागि विशेष महत्वको हुने छ भन्ने विश्वास छ ।
देशमा कम्युनिस्ट, समाजवादी, लोकतान्त्रिक गणतन्त्रवादी, देशभक्त शक्तिहरुको उपस्थिति निकै शक्तिशाली छ । त्यस्तै मजदुर, किसान, मध्यमवर्ग, राष्ट्रिय उद्योगी, उत्पीडित जाति, समुदायको संख्या पनि धेरै छ तर राज्यलाई रुपान्तरण गर्ने, जनताको हितमा प्रयोग गर्ने, देशलाई स्वाधीन बनाउने, जनतालाई संमृद्ध बनाउनेमा ठूलो अन्यौलता र अक्रमण्यता छ । यसको फाइदा साम्राज्यवादी तत्व र दलालहरुले उठाइरहेका छन् । यो एकता र धु्रवीकरणले एकीकृत जनक्रान्तिका मित्रवर्ग, शक्ति र समुदायलाई एकतबद्ध बन्न एक कदम अगाडिबाट सकारात्मक सन्देश दिने छ भन्ने विश्वास छ ।
अन्तमा देशमा जतिनै कठिनाइ, प्रतिकूलता भए पनि यो श्रमिक प्रधान देश हो । श्रमिकवर्ग अन्ततः सत्य, न्याय र परिवर्तनका पक्षमा रहन्छन् । नेकपाप्रति आम जनताले दर्शारहेको सद्भावले देशलाई अग्रगामी परिवर्तनतिर लान सकिन्छ भन्ने आत्मविश्वस बनेको छ । यो स्थितिमा सबै प्रगतिशील, परिवर्तनकारी, समाजवादी, देशभक्त मित्रहरु एकतबद्ध बन्न र रुपान्तरणकारी आन्दोलनमा ध्रुविकृत हुन विशेष अपिल गर्दछौं ।’

प्रतिक्रियाहरु

[anycomment]