‘संसदलाई समाजवादका लागि बहस गर्ने थलो बनाउने छौँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले संसदलाई समाजवादका लागि बहस गर्ने थलो बनाउने उद्घोष गरेका छन् । बिहिबार महोत्तरीको बर्दिबासमा भएको सो पार्टीको मधेश प्रदेशस्तरिय राजनीतिक, वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन्।
उक्त राजनीतिक, वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले चुनावलाई एकीकृत जनक्रान्तिकै मोर्चाका रुपमा प्रयोग गर्न लागेको बताउँदै संसदलाई समाजवादका लागि बहस गर्ने थलो बनाउने बताए । उनले भने- ‘अहिले संसदमा गाली गलौज चलेको छ । एकले अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । हामी यसलाई समाजवादका लागि बहस गर्ने थलो बनाउँछौँ ।’

यसैगरी, महासचिव विप्लव सीले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकुल रहेको तथ्य प्रस्तुत गर्दै उनले वर्तमान विश्व राजनीतिक र आर्थिक घटनाक्रमको व्याख्या गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकूल भएको बताए । उनले एकीकृत जनक्रान्तिको बलमा नेपालमा नेपाली विशेषताको समाजवाद स्थापना गराएरै छाड्ने उद्घोष समेत गरे ।

यसैगरी , उक्त कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले मधेसमा पार्टी निर्माणको चुनौती र संभावनालाई विश्लेषण गर्दै नेता कार्यकर्ता पहलकर्ता हुँदा मधेसमा शोषण दमन बढि भएकोले विद्रोह पनि चाडै हुने बताए । उनले देशको आवश्यकता र नेपाली जनताको चाहना नेपाली विशेषताको समाजवाद भएको उल्लेख गर्दै देशको आवश्यकता र जनताको यो चाहना नेकपाले पूरा गरेरै छाड्ने उद्घोष गरे । उनले नेपाली विशेषताको समाजवाद स्थापना गर्न नेपाल कम्युनिष्ट पार्टीको काँधमा धेरै ठूलो जिम्मेवारी आएकोसमेत बताए ।

यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीको पोलिट ब्युरो सदस्य असल सीले देशको मुख्य समस्या दलाल पुँजीवाद भएको र जनताले यसको अन्त्य चाहेको बताए । उनले पार्टीले दलाल पुँजीवाद र साम्राज्यवादका विरुद्धमा लड्नका लागि विचार संश्लेषण गर्न लागेको बताउँदै यसले नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान हुने बताए ।

उक्त कार्यक्रमको संचालन नेकपा पोलिट ब्युराे सदस्य त्रिलोक सीले गरेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य इन्द्रदेव सीले स्वागत मन्तव्य राखेका थिए भने केन्द्रिय सदस्य लक्ष्मण सीले छैटौं पूर्ण बैठकबाट पारित दस्तावेज पढेर सुनाएका थिए ।
नेता कार्यकर्ताको उत्साहसहितको सहभागितामा भएको उक्त प्रशिक्षण कार्यक्रममा वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट हालै ध्रुवीकरणमा आएका जितेन्द्र सीले पनि आफ्नो अनुभूति राखेका थिए ।