‘अवस्था होइन व्यवस्था नै परिवर्तन गर्नुको विकल्प छैन’

२०८१ माघ ५ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा अवस्था होइन व्यवस्था नै परिवर्तन गर्नुको विकल्प नभएको ठोकुवा गरेका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी बाँके र बर्दियाको संयुक्त राजनीतिक कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको ठोकुवा गर्दै भने- ‘नेपालका दलालहरुलाई देश र जनताको कुनै मतलव छैन, उनीहरुलाई केवल पद,पैसा र कुर्सी भए पुग्छ । नेकपाको संघर्षले अमेरिकी साम्राज्यवाद उदाङ्गिएको छ, अमेरिकाले एमसीसीमार्फत नेपालमा सेना ल्याउन चाहन्थ्यो, हाम्रो संघर्षकै कारण रोकिएको छ, संघर्ष अझै जारी छ, भर्खरै लफ्सीफेदीमा हाम्रा १७ जना कार्यकर्ता पक्राउ गरेको छ, यो साम्राज्यवादको दलाल सरकार भएर हो ।’
यसैगरी, महासचिव विप्लव सीले नेपालमा पछाडि फर्केर होइन अगाडि बढेर नेपाली विशेषताको समाजवादको बाटोबाट अग्रगामी निकास खोज्नु पर्ने बताउदै नेपाली विशेषताको समाजवादमा जाने जुनसुकै शक्तिसंग सहकार्य गर्न तयार रहेको बताए ।


उनले नेकपा ०८४ को चुनावलाई क्रान्तिको एउटा मोर्चाको रुपमा उपयोग गर्न तयार भएको बताउदै चुनावमा जाने वातावरण बनाउन सरकारले तत्काल तीन बुँदे सहमति कार्यन्वयन गर्नु पर्ने बताए ।
यसैगरी, महासचिव विप्लव सीले पद, पैसा र कुर्सीका लागि संसदवादी पार्टीहरु देश बेच्न तयार भएको तथ्य प्रस्तुत गर्दै संसदवादी पार्टीहरुको यस्तो कुकर्म भनेको आफ्नो आमालाई बेच्न खाेज्नुसरह भएको बताए । उनले भने- ‘नेपाललाई कुनै पनि बेला पद, पैसा र कुर्सीका लागि संसदवादी पार्टीका नेताहरु बेच्न तयार छन्, एमसीसी गरेका छन्, एसपीपी गर्ने षड्यन्त्र गरिरहेका छन्, नेपालको सार्वभौम अधिकारलाई विदेशीको हातमा सुम्पने दलालहरुको कुनैपनि भर गर्ने अवस्था छैन ।’
यसैगरी, महासचिव विप्लव सीले नेपालको प्रमुख समस्या भनेको दलाल पुँजीवाद भएको ठोकुवा गर्दै नेपालमा दलाल पुँजीवाद र नेपाली जनताबिचको अन्तरविरोध प्रधान अन्तरविरोध बनेको बताए । उनले भने- ‘हामी कुनै हिंसात्मक युद्ध चाहदैनौ, शान्तिप्रिय भनेका सबभन्दा कम्युनिष्टहरु हुन्, हाम्रो पार्टी शान्तिपूर्ण रुपमा नेपालमा समाजवाद ल्याउन चाहन्छ। ‘
यसैगरी, महासचिव विप्लव सीले सरकारमा हुनेहरुले दमन गरे, जनतालाई अधिकार दिन तयार नभए नेकपा चुप लागेर नवस्ने पनि चेतावनी दिंए। उनले नेकपाको राजनीतिक कार्यदिशा, कार्यक्रम र योजना मुलत अहिलेसम्म सफल हुँदै आएको उल्लेख गर्दै नेकपाको एजेण्डामा देश अगाडि बढेको बताए ।
नेकपाका स्थायी समिति सदस्य तथा लुम्विनी प्रदेशका इन्चार्ज सन्तोष सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले दिएका थिए भने संचालन नेकपाका बाँके जिल्ला इन्चार्ज रक्तिम सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]