‘राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्ति जरुरी'(भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्ति जरुरी भएको बताएका छन् । आइतबार अखिल समाजवादी कर्णाली प्रदेश समितिद्वारा आयोजित ‘बुद्धिजीविसँग नेपालको अर्थ राजनीति र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले नेपाली राजनीतिमा देखिएको दलाली भत्काउन नयाँ आर्थिक मार्गको अवधारणा अघि सारेको बताउदै राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्ति जरुरी भएको बताए। उनले भने- ‘आत्मनिर्भरसहित समृद्धिको आर्थिक मार्ग चाहिन्छ, सरकारले समृद्धिको कुरा गरेपनि आत्मनिर्भर विना समृद्धि हुँदैन, त्यसैले आत्मनिर्भरको आर्थिक कार्यक्रम चाहिन्छ ।’
महासचिव विप्लव सीले नेकपाका नेता – कार्यकर्ता खानको लागि परनिर्भर नभएको बताउदै भने- ‘हामी देशको अर्थतन्त्रलाई उत्पादनसंग जोडेर अगाडि बढ्न चाहन्छौँ। त्यसका लागि कृषि क्षेत्रलाई जोड दिनु पर्छ, र त्यसपछि व्यापार र उद्योगको विकास गरेर समृद्धितिर जान्छौँ ।’

यसैगरी, महासचिव विप्लव सीले नेपालका राजनीतिक दलहरुमा सुस्पष्ट आर्थिक दृष्टिकोण नहुँदा नेपालमा दलाली बढेको बताउदै भने- ‘उत्पादन विनाको राजनीति गर्ने कुरा दलाली हो, भ्रष्टाचार मौलाउने माध्यम हो, नेपालका पार्टीहरु कसैको पनि आर्थिक दृष्टिकोण भएन, जसले गर्दा नेपालमा समस्या पैदा भयो ।’
महासचिव विप्लव सीले नेताहरु सुख भोगमा बढी रमाउने तर आफ्नै उत्पादन र श्रमसंग नजोडिने कुराले नेपाल गरिब भएको तथ्य प्रस्तुत गर्दै नेपाल कम्युनिष्ट पार्टीले नेपाली राजनीतिमा देखिएको दलाली भत्काउन नयाँ आर्थिक मार्गको अवधारणा अघि सारेको बताए । उनले राजनीतिक क्षेत्रमा केही परिवर्तन भएपनि अर्थको क्षेत्रमा कुनै परिवर्तन नभएको बताउदै नेपालको आर्थिक क्षेत्र सुधारका लागि बुद्धिजीविहरुलाई अनुसन्धानमा सहयोग गर्न अपिल गरे ।