चुनाव : एकीकृत जनक्रान्तिको एउटा मोर्चा !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले ०८४ को चुनावमा पार्टी सहभागी हुने बताउदै चुनावलाई एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा प्रयोग गर्न लागेको बताए । नेपाल कम्युनिष्ट पार्टी कैलालीद्वारा बुधवार धनगढीमा आयोजित समसामयिक बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले ०८४ को चुनावमा जनताले केवल ५ वर्षको लागि देश चलाउने जिम्मेवारी दिए देशलाई नयाँ ठाउँमा पुर्याउने उद्घोष गर्दै समृद्धिको नारा दिएर दलाली गर्ने कार्यले देश कहिल्यै नबन्ने ठोकुवासमेत गरे । उनले भने- ‘अहिले समृद्धिको नारा होईन, आत्मनिर्भरको नारा चाहिएको छ, नारा मात्र होईन काम चाहिएको छ, पहिला नेता, त्यसपछि कार्यकर्ता र त्यसपछि जनता आत्मनिर्भर हुने कार्यक्रम चाहिन्छ, त्यो भनेको नेपालको खेत हो, नेपालको माटो हो, कुनै विदेशमा जाने लहरले समृद्धि हुदैन, हाम्रो आफ्नै श्रम र समयलाई नेपालमै उत्पादनमा जोडन सक्नु पर्छ ।’
यसैगरी, महासचिव विप्लव सीले नेपालमा टाउकोले टेकको अर्थतन्त्रलाई खुट्टाले टेकाउनु पर्ने बताउदै कम्युनिष्ट आन्दोलनले गलत आर्थिक ट्रयाकलाई सच्याउन जरुरी भएको बताए । उनले भने- ‘नेपालका नेताहरुलाई सुख भोग धेरै चाहिएको छ, त्यो पनि श्रम विना चाहिएको छ, श्रम विना खाने कामले भोलि विप्लव पनि चोखो हुदैन । यो सबै भन्दा गलत ट्रयाक हो, माओवादी समेत यहि ट्रयाकले भ्रष्टाचारी, दलाली र घुसघोरी भयो, यो समस्या मैले ०६५ सालमै माओवादीमा देखेको थिए, धेरै वहस पनि भयो, माओवादी भित्रको एउटा तप्का सुधारीने ठाउँमा देखिएन, हामीले नयाँ समाधान दिनको लागि प्रचण्डबाट अलग पनि भयौ, हामीले अहिले नयाँ गर्न खोजेका छौ, देशैभरी पार्टीलाई उत्पादनमा लगाएका छौ, हरेक केन्द्रीय सदस्य उत्पादनमा जोड्ने नीति बनाएका छौ ।’
यसैगरी, महासचिव विप्लव सीले यो बर्ष पार्टीले १७ सय क्वईटल धान उत्पादन गरेको बताउदै पार्टी नेता कार्यकर्तालाई खानको लागि चन्दा माग्न नपर्ने पार्टी बताउन लागेको बताए। उनले ३ बर्षभित्र पार्टीलाई आत्मनिर्भर पार्टी बनाउने उद्घोष समेत गरे ।
यसैगरी, महासचिव विप्लव सीले दलाल पुँजीवादका कारण जनताले दुख पाएको ठोकुवा गर्दै यसको समाधान नेपाली विशेषताको समाजवाद भएको बताए । उनले समाजवादका लागि नेपालका वुद्धिजीवीहरुको महत्वपूर्ण योगदान रहने बताउदै अब एकपटक नेकपाले उठाएको नेपाली विशेषताको समाजवाद र उत्पादनको क्रान्तिमा साथ दिन अपिलसमेत गरे ।

उक्त अन्तरक्रिया कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सिको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको थियो।