‘संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने चाहना छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने चाहना भएको बताएका छन् । सो पार्टीद्वारा आइतबार आयोजित क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले ०८४ मा हुने संसदीय चुनावमा नेकपाले भाग लिने निर्णय गरिसकेको बताउदै भने- ‘हाम्रो पार्टीले के निर्णय गरेको छ भने एक पटक ०८४ लाई समाजवादी अभियानको निम्ति प्रयोग गर्ने, राष्ट्रिय स्वाधिनताका लागि प्रयोग गर्ने, संसदीय चुनाव हो हामीलाई थाहा छ। मान्छेले भनेका छन् हामीलाई तपाईंहरु घुम्दै फिर्दै त्यहीँ आउनुभयो नि त। हो यो चुनाव हो। हाम्रो अपिल छ नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने हाम्रो चाहना छ। देशलाई स्वाधीन बनाउने एजेण्डासहित नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित एकचोटि जाने विचार छ। यदि नेपाली जनताले हामीलाई विश्वास गर्नुभयो भने।’
यसैगरी, महासचिव विप्लव सीले नेकपा संसदीय व्यवस्थाविरोधी दल भएको उल्लेख गर्दै सबैको मित्र बनेर काम गर्ने बताए । उनले नेकपाले देश बेचुवा दलाल र जनता लुटेर खाने माफियाबाहेक अरु सबैसँग सहकार्य गर्ने बताउदै भने- ‘नेकपा सबैको मित्र, देश बेचेर खाने दलाल, लिच्चडहरु बाहेक, जनताको सम्पत्ति उडाउने माफियाहरुबाहेक सबैसँग सहकार्य गरेर यो देशलाई अगाडि बढाउने हाम्रो चाहना छ । ’
महासचिव विप्लव सीले नेपाल गरिब भयो, सकियो भन्नेतिरबाट मात्रै नभएर नेपाल नयाँ चरणमा प्रवेश गर्दैछ भन्ने सन्देश दिनेगरी आफूहरुले काम गर्ने बताए । उनले नेपालले काँचुली फेर्न समय आउन बाँकी रहेको र आफूहरु त्यो समयको प्रतिक्षामा काम गरिरहेको बताए ।
यसैगरी, महासचिव विप्लव सीले नेपाली जनताको पैसा, दया, माया नभई विश्वास भए मात्रै पुग्ने बताउदै एकपटक नेकपालाई विश्वास गरेको खण्डमा आजको व्यवसाय, उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता गरे। उनले कसैले पनि हेप्न नसक्नेगरी नेपालको व्यवसायलाई माथि उकास्नेसमेत बताए।
यसैगरी, महासचिव विप्लव सीले राजधानीकै बुढानीलकण्ठमा व्यापारिक केन्द्र खोल्न लागिएको पनि जानकारी गराउदै भने- ‘भोलि नै हामी बुढानीलकण्ठमा सी व्यापार केन्द्र पनि खोल्दैछौं। ‘
उनले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई हटाएर गरिब देशलाई सहयोग गर्ने नेकपाको चाहना रहेको बताउदै भने- ‘नेपालले विदेशबाट चामल बेसाएर खाने होइन, गरिब देशलाई सहयोग गर्ने हाम्रो चाहना छ । नेपालका हरेक व्यवसायीलाई विश्वस्त पार्न चाहन्छौं, प्रतिबन्ध पनि झेल्यौं । त्यहाँबाट उठेर हामी आएका हौं । नेपाली जनताको मन छामेका छौं । नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी हाम्रा मित्र हुन् ।’
उक्त कार्यक्रममा काठमाडौबाट नेकपा एमालेनिकट यातायात महासघका अध्यक्ष विष्णु शिवाकोटी ,वरिष्ठ उपाध्यक्ष विकम सापकोटा,क्रान्तिकारीले ट्रेड युनियन केन्द्रिय सदस्य एव पार्टी प्रदेश सदस्य प्रल्हाद कार्की ,भक्तपुरका किसान महासघका सयोजक तोकबहादुर खडका,अनिल सिटौला,किरण लामा, विक्रम मण्डल,उद्वव पण्डित, सुसिला तामाङ ,रणबहादुर . तामाङ ,पुण्यप्रसाद बराल, वीरबहादुर ढकाल,प्रहात्मा शाहेव,जित थापा,क्रान्तीकारी कम्युनिस्ट पार्टी प्रदेश सदस्य धन तामाङ ,उर्मिला प्रजापती, पुन्यराज पनेरु, कुमार रायमाझी ,राज कुमार ठकुरी, विशाल घिमिरे,राम कुमार श्रेष्ठ ,छवि निरौला , लगायत रास्वपाका राजकुमार खड्की र भक्तपुरबाट रोम कोजुसहित दर्जनौ नेता कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । उनीहरुलाई महासचिव विप्लव सीले फूलमाला अबिरसहित नेकपामा स्वागत गरेका थिए ।