‘नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना छ’

२०८१ माघ १४ गते, सोमबार


काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना भएको बताएका छन्। सोमवार नेपाल कम्युनिष्ट पार्टीद्धारा काठमाडौको बुढानिलकण्ठमा सुरु गरिएको सी व्यापार केन्द्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।


महासचिव विप्लव सीले कसैसँग मागेर नभइ आफ्नै शक्तिमा सत्ताको नेतृत्व गर्न चाहेको बताउदै भने- ‘२०८४ सामान्य हुँदैन । उथलपुथल हुन्छ । कायाकल्प हुनसक्छ । एकपटक हामीले नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना छ । नेपालको राजनीतिलाई आकासबाट धर्तीमा उभ्याउन चाहन्छौँ । नेपाली जनताले एक पटक समाज हेर्न चाहेका छन् । आगामी निर्वाचनमा समाजवादी शक्ति एक भएर चुनावमा भाग लिन्छौँ। यहाँ प्रधानमन्त्री बन्न चाहना राख्नुभयो भन्नुभयो । हामीले सत्ता दिनोस् हजुर भनेर मागेको होइन। सत्ता नै नभए राजनीति धरापमा पर्छ । सत्ताकै लागि हामीले राजनीति गरेको हो । यो माग्ने चिज होइन नैसर्गिक अधिकार हो ।’


महासचिव विप्लव सीले २०६४ लाई माओवादीले थेग्न नसक्दा अहिले समस्या आएको बताउदै त्यसबाट पाठ सिकेर वर्ग सङ्घर्षसँगै (राजनीति) क्रान्तिसँगै उत्पादनमा जोडिएको प्रष्ट्याए । उनले पार्टीले गरेको उत्पादन उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्ने ठोकुवा गर्दै भने- ‘उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्छौँ । एउटा व्यापारीले सक्छ भने हामी किन सक्दैनौँ । हामीले चन्दा उठाएर बनाएका होइनौँ । २४ घण्टा राजनीति गर्नु जरुरी छैन । तीन घण्टा श्रममा जोडिनोस् भनेर मैले पार्टीका साथीहरूलाई भन्ने गरेको छु। अब झोला बोकेर अगाडि बढ्न सकिँदैन । उत्पादनले हामीलाई अहिले समस्या छैन । हाम्रो विश्वास के छ भने घाटामा जाँदैनौँ । मरेर श्रम गर्छौँ ।’
यसैगरी, महासचिव विप्लव सीले चार मित्रशक्ति (कम्युनिस्ट, समाजवादी, देशभक्त र अग्रगामी) सँग आफूहरूको दुश्मनी नभएको प्रश्त्याउदै नेकपाको दुस्मनी राज्यको दोहन गरेर भ्रष्टाचार गरी देशलाई टाट पल्टाउनेसँग भएको बताए ।
यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाल कम्युनिस्ट पार्टीको श्रम संस्कृति शिक्षा लिन लायक भएको बताए ।
अध्यक्ष नेपालले नेकपाले थालनी गरेको उत्पादन कार्यबाट सबैले सिक्नु पर्ने भन्दै कम्युनिष्ट पार्टीका नेताहरुमा श्रम संस्कृतिसहित देश बनाउने चिन्ता नहुदा सत्ताको दुरुपयोग गर्ने प्रवृति हावी भएको बताए। उनले भने- ‘नेकपाको श्रम संस्कृति सबैलाई शिक्षा लिन लायक छ, नेपालमा धेरै कम्युनिष्ट नेता प्रधानमन्त्रीहरु भए । कम्युनिष्ट पार्टीका नेताहरुमा देश बनाउने चिन्तन भएन । प्रधानमन्त्रीमा सत्ताको दुरुपयोग गर्ने प्रवृति हावी भयो । कम्युनिष्ट नेताहरु सत्ताको दुरुपयोगबाट वाहिर जानुपर्छ । श्रम संस्कृतिसंग नजोडिएसम्म देश बन्दैन ।’
अध्यक्ष नेपालले राज्यले नेपालको श्रोत साधनहरुलाई जनताहितमा प्रयोग गर्न सके कुनै पनि नेपाली विदेश पलायन हुन नपर्ने र नेपाल विश्वको धनी देश बन्न सक्ने ठोकुवा गर्दै भने- ‘एउटा कम्युनिष्ट पार्टीको नेता आफै उत्पादनमा संलग्न हुदै श्रमसंग उत्साहित भएर नेता कार्यकर्तालाई उत्पादनमा लगाउनु आफैमा नयाँ काम भएको भन्दै यो जीवन यापनसंगै राष्ट्रिय उत्पादनसंग जोडिएको कुरा हो। केही नयाँ काम गरौं, आवश्यक छ भन्ने विप्लवको विचार र पहल सकरात्मक छ। मैले विप्लवले गरेको उत्पादन, उत्पादन गर्ने नेता कार्यकर्तालाई मात्र वितरण गर्ने र बचेको पार्टीको आम्दानी गर्ने होकि सोचेको थिए । तर यो जनतासम्म लिने रहेछ, सी व्यापार केन्द्रले नयाँ सन्देश दिएको छ ।’
यसैगरी, अध्यक्ष नेपालले उत्पादनबाट आम्दानी बढ्ने र आम्दानीसँगै स्वार्थ बढ्ने हुनाले त्यसले दुर्घटना निम्त्याउन सक्ने तर्फ नेकपालाई सचेत गराउदै भने-‘ विगतमा कम्युन प्रणालीबाट भएका उत्पादन, त्यसको प्रतिफलबारे अध्ययन गर्नुपर्छ । माओवादीले रोल्पालगायतका जिल्लामा गठन भएको कति सफल भयो त्यसबारे समीक्षा गर्नुपर्छ । नेकपाभित्र यो छ कि छैन, त्यो आन्तरिक कुरा भयो हामीले भन्न मिल्दैन । तर त्यस्तो नहोस् भनेर सुझाव दिन्छु। ‘
यसैगरी, सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र) उपमहासचिव जनार्दन शर्माले राज्यले उत्पादनलाई नै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिदै उत्पादनलाई शिक्षा र सिपसँग जोड्न नसक्दा समस्या भएको बताए । उनले शिक्षालाई सिपसँग जोड्न नसकिएको, उत्पादनलाई उद्योगसँग र उद्योगलाई बजारसँग जोड्न नसक्दा समस्या आएको बताउदै भने- ‘नेकपाले एकीकृत उत्पादन नीति ल्याएको छ । यो चुनौतीपूर्ण थालनी हो । जति चुनौती भएपनि यसलाई निरन्तरता दिनु आवश्यक छ । प्रकृतिले हामीलाई दिएका स्रोतहरू साझा हुन् । स्रोतको प्राथमिकता जनताले पाउनुपर्ने हो । मानव सभ्यताको विकाससँगै तीनको स्वतन्त्रता पराधीन हुँदै गएको छ। पुँजीपतिहरूले प्राकृतिक स्रोत साधन कब्जा गरेका छन् । श्रमिकको हातमा छैन । यसको वितरण कसरी गर्ने भन्नेमा विश्व विभाजित छ । स्रोत र साधनमा जनताको स्वामित्व स्थापित गर्ने मान्यता राख्छौँ । केही कुरा पुँजीवादबाट सिक्नुपर्छ ।’
उपमहासचिव शर्माले हरेक व्यक्तिले गर्ने क्रियाकलाप, किसान, बुद्धिजीवी चाहे जोसुकै व्यक्तिले पनि देशको अर्थतन्त्रलाई बलियो बनाउन प्राथमिकता दिनुपर्ने तर श्रमिक, किसान, मजदुरले प्राथमिकता नपाएर पुँजीपतिहरूले मात्र प्राथमिकता पाएकाले समस्या आएको बताए ।
उक्त कार्यक्रममा नेकपाका अध्यक्ष ऋषिराम कट्टेल , नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठलगायतले नेकपाको कृषि क्रान्ति सबैले अनुकरण गर्न लायकको बताउदै सफलताको शुभकमना दिएका थिए ।
नेकपाका महासचिव विप्लव सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड सीलागायत नेकपाका नेता- कार्यकर्ता, सहिद परिवार, वेपत्ता परिवारलगायत स्थानीय जनताहरुको सहभागिता रहेको थियो ।
स्मरणीय छ , नेपाल कम्युनिस्ट पार्टी पछिल्लो समय देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले धान,गहुँ,तोरी,आलुलगायतका अन्नबाली र स्याउ लगायतका फलफूल उत्पादन गर्दै आएको छ । सो पार्टीले कालिकोट,हुम्ला,जुम्लामा भेडा फर्म सञ्चालनको तयारी गरिरहेको छ भने चितवन,बर्दिया,बांके,दाङलगायत देशभरका जिल्लामा कृषिजन्य कार्य गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]