समाजवादी मोर्चा देशको राजनीतिक विकल्प

काठमाडौँ । समाजवादी मोर्चा नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभाका वक्ताहरुले समाजवादी मोर्चा देशको राजनीतिक विकल्प भएको ठोकुवा गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवादमात्र भएको ठोकुवा गरे । उनले वर्तमान राजनीतिक संकटको निर्विकल्प निकास समाजवाद नै रहेको ठोकुवा गर्दै भने- ‘ यो देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न सक्दैनौं । यो देशलाई विदेशीहरुको इसारामा उठ भन्दा उठ बस भन्दा बस भन्ने मान्छेहरुको जिम्मा लगाएर हामी बस्नेवाला छैनौं । हामी यो देशको माटोमा उभिएर यो देशको पहाडमा उभिएर गर्वका साथ भन्छौ । इतिहास नयाँ तरिकाले पुननिर्माण गर्न बाँकी छ । हामीले पञ्चायत ढाल्यौ हामीले गोलिले उडायौं, हामी गोलिले उड्यौं हामीसबै पचाएर आएका मान्छे हौं । दलाल पुँजीवादको झटारोबाट हामी तर्सिन जरुरी छैन् । दलाल पुँजीवादको रजाईबाट हामी तर्सिन जरुरी छैन । दलाल पुँजीवादबाट साच्चै देशलाई शान्ति दिने हो, स्थिरता दिने हो, स्वाधिनता दिने हो यसको निकास भनेको समाजवाद हो । आज यदी वैज्ञानिक समाजवाद सम्भव छैन् भने पनि त्यसमा हाम्रो सहमति बन्न सक्दैन भने समाजवादी पार्टीकोबीचमा समाजवादी विचारधाराबीचमा भव्य सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् देशलाई अगाडि लैजान जरुरी छ ।’
यसैगरी, संयोजक विप्लव सीले नेपालको सरकार नेपाल राज्यको र जनताको बन्न नसकेको बताए । उनले नेपालको गणतन्त्र पनि जनताको गणतन्त्र बन्न नसकेको भन्दै नेपालको सरकार र नेपालको राज्यलाई जनताको सरकार र जनताको राज्यमा बदल्न आफूहरु लागिरहेको बताए । उनले भने- ‘सरकार हेरफेर होला, नहोला । त्यसमा हाम्रो धेरै चिन्ताको कुरा छैन । हामीलाई चिन्ता के छ भने यो सरकार नेपालको सरकार बन्न जरुरी छ । नेपालको सरकार, नेपालको राज्य, जनताको राज्य बन्न सकेको छैन । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेको छैन । यसलाई जनताको गणतन्त्र र जनताको राज्यमा बदल्ने सपना हामीले देख्नुपर्छ । त्यो क्षमता हामीसँग छ । त्यो हिसाबले समाजवादी मोर्चाले काम गर्ने छ।’
यसैगरी, संयोजक विप्लव सीले देशलाई दलालहरुको हातमा राखेर आफूहरु चुप लागेर बस्नेवाला नरहेको भन्दै देशलाई विदेशीहरुको इसारामा उठ भन्दा उठ र बस भन्दा बस गर्ने मान्छेहरुको जिम्मा लगाएर आफूहरु बस्न नसक्ने बताए । उनले अहिलेको अर्थतन्त्र देशको सुदृढ र सन्तुलित हुन नसकिरहेको,नागरिकहरुको जीवनपनि निकै कष्टकर भएको र देशमा उत्पादनको एकदमै ठूलो खडेरी परेको समेत ठोकुवा गरे।
यसैगरी, संयोजक विप्लव सीले समाजवादी मोर्चा कुम्भकर्ण नभई ब्युँझेर आएको बताउदै भने- ‘समाजवादी मोर्चा कुम्भकर्ण होइन ब्युँझेर आएको छ । मोर्चा गतिमै छ । जसपा अहिले छैन । नेसपालाई सहभागी गराउन सफल भएका छौँ’, उनले भने, ‘थुप्रै मित्र शक्तिलाई मोर्चामा ल्याउने पहल भइरहेको छ । सरकार ढल्छ र ढल्दैन तिखा बहस भइरहेका छन् । जनताले निकासको चाहना राखेका छन् । सबैतिरबाट सक्रिय हुने परिस्थिति बनिराखेको छ ।’
यसैगरी, संयोजक विप्लव सीले २०८४ युगान्तकारी परिघटना हुनेवाला भएको भन्दै समाजवादको यात्रा तय गर्न धेरै बाँकी रहेकोसमेत बताए ।
यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा देशको राजनीतिक विकल्प भएको बताए। उनले संविधान संशोधनको विषयभित्र देश दुर्घटनातिर जाने खतरा लुकेको बताउदै वर्तमान सरकारले मजदुर, किसान, उत्पीडित वर्ग, समुदायको हक, अधिकार खोस्नेगरी संविधान संशोधन गर्न खोजेको ठोकुवा गरे । उनले सरकारको त्यस्तो कदम आफूहरुलाई स्वीकार्य नहुने बताउदै भने- ‘दुर्घटनाको खतरा त्यहीँ अन्तरनिहित छ । संविधान संशोधनको कुरा जे विषयमा भनिएको छ, दुर्घटनाको खतरा त्यसैभित्र छ । संविधान संशोधन यो देशका मजदुर, किसान, उत्पीडित वर्ग, समुदायको हक, अधिकार बढाउनका लागि होईन, त्यो खोस्न खोजिरहेका छन् । यो समजवादी मोर्चाले विकल्प दिनेगरी नजाने हो भने खतरा छ । ’
अध्यक्ष प्रचण्डले वर्तमान सरकारले अध्यादेशमार्फत प्रतिगमनको पाइला सुरु गरेको बताए । उनले अध्यादेश अलोकतान्त्रिक र निरङ्कुश तरिकाबाट ल्याइएको ठोकुवा गर्दै भने- ‘अध्यादेश पनि बडो अलोकतान्त्रिक र निरङ्कुश तरिकाले ल्याइएको छ । आफैंले भन्ने गरेको मान्यता विपरीत, सदनमा भएको विधेयक सदनबाट फिर्ता नलिइकन जबरजस्ती अध्यादेश ल्याउने जो काम भएको छ, यो स्वैच्छाचारी र निरङ्कुश छ । यो प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्ने महशुस गरेर हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउन बाध्य छौं भनेपछि मात्रै सरकारले सदन बोलाएको छ ।’
अध्यक्ष प्रचण्डले वर्तमान सरकार आफैंमा अप्राकृतिक र अलोकतान्त्रिक रहेको दोहोर्याउदै गएको छ महिनामा सरकारको क्रियाकलापबाट पनि यो अलोकतान्त्रिक र अप्राकृतिक रहेको पुष्टि हुने बताए । उनले अब समाजवादी मोर्चा देशको राजनीतिक विकल्पको रुपमा आउनै पर्ने बताउदै भने- ‘यो सरकार आफैंमा अप्राकृतिक छ, अलोकतान्त्रिक छ । यो गलत उद्देश्यले बनेको छ, गएका छ महिनामा उसले गरेको क्रियाकलापले त्या देखाएको पनि छ । अब समाजवादी मोर्चा देशको राजनीतिक विकल्पको रुपमा आउनै पर्ने भएको छ । हामीले जुन रणनीतिक उद्देश्य, समाजवादी विकल्पकको कुरा गरेका छौं, हामीहरु जागरुक नहुने हो भने देश नराम्रो अवस्थातिर जान सक्छ । ’
यसैगरी, अध्यक्ष प्रचण्डले नयाँ स्प्रिडका साथ समाजवादी मोर्चामा एकताबद्ध हुन सबैमा अपिल गरे । उनले समाजवादी मोर्चा केही समय सुस्ताएको जस्तो देखिए पनि यो भनेको पार्टीका आन्तरिक कामको व्यस्तता र राजनीतिमा आएको फेरबदलका कारण मोर्चाका गतिविधिहरुमा ढिलो हुन गएको स्वीकार गरे ।
अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई सुदृढ गर्दै अग्रगामी राजनीतिक शक्तिको विकल्पको रुपमा अगाडि लिनु पर्ने बताउदै भने -‘हामी जागरुक हुनैपर्छ, संविधानमा भएका जनताका अधिकारहरु खोस्न लागिएको छ । राष्ट्रिय स्वाधीनता र सन्तुलित परराष्ट्रनीति छैन, अप्राकृतिक अलोकतान्त्रिक सरकार बनेको छ । यो प्रतिगमनको फेरी पनि खतरा छ । अब समाजवादी मोर्चा देशको राजनीतिक विकल्पको रुपमा अगाडि जानु पर्छ ।’
अध्यक्ष प्रचण्डले प्रतिगामी यथास्थितिवादी शक्तिका विरुद्ध अग्रगामी निकास दिन विचार मिलेसम्म एउटै केन्द्र बनाउने र नभए हाललाई समाजवादी मोर्चाको माध्यमबाट जनतालाई विकल्प दिनु पर्ने बताउदै भने -‘रणनैतिक दृष्टिकोणमा एउटै केन्द्र बनाउनु पर्छ, विचार मिल्नेहरुको एकता र धुव्रीकरण ढिलो गरौ भन्ने पक्षमा पनि म छैन र हतार गरेर छिटो गरौ भन्नेमा पनि म छैन,तर धेरै ढिलो चाहि गर्नु हुदैन। हामी एक हौं, देशको राजनीतिप्रति चिन्तितहरुलाई विकल्प दिउँ, त्यो भनेको समाजवादी मोर्चा हो । समाजवादी मोर्चाको विकल्पमा अघि बढन म अपिल गर्दछु ।’
यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले साना पार्टीहरु टुक्रा–टुक्रा होस् भन्ने चाहेको बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेको नेपालले अहिलेको सरकारसँग देश र जनताको पक्षमा काम गर्ने हुटहुटी नरहेको बताउदै भने- ‘अहिलेको सरकार जिम्मेवार छैन, हुटहुटी पनि छैन । देशको विकासको लागि हुटहुटी चाहिन्छ । ’
अध्यक्ष नेपालले सरकार उद्योग, जलस्रोत, पर्यटनको विकासमा गम्भीर हुनुपर्नेमा त्यो हुन नसकेको बताउदै यी कुरालाई सम्बोधन गर्न समाजवादी मोर्चा अगाडि बढेको बताए ।
यसैगरी, अध्यक्ष नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली नेपाल जस्तो देशका लागि आवश्यक नभएको बताए । उनले नेपालजस्तो संवेदनशील देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति उपयुक्त हो कि होइन बहस गर्नुपर्ने बताउदै भने- ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग हुन्छ । केही चाहिँदैन । कुनै पनि ठाउँ चाहिँदैन,’ अध्यक्ष नेपालले भने, ‘विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू थाहा पाउनुभएको छैन भने एउटा गोष्ठि राख्नुस् । म सबै विवरण नै दिन्छु । म आफैं त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु ।’
यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेसपाका अध्यक्ष महिन्द्राराय यादवले देश दुर्घटना उन्मुख भएको बताउदै सबै सचेत हुनु पर्ने बताए।
नेकपा कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले संचालन गरेका थिए।