नेकपाको काँधमा असामान्य जिम्मेवारी

२०८१ माघ २४ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले नेकपाको काँधमा असामान्य जिम्मेवारी आएको ठोकुवा गरेकी छन। नेपाल कम्युनिष्ट पार्टी स्याङजाको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन्।
नेता शिलु सीले अब देशको जिम्मा लिने अभिभारा नेकपामा आएको भन्दै यसको सबै नेता – कार्यकर्तामा बोध हुनुपर्ने बताइन् । उनले हेर्दा सामान्य भएपनि अहिले असामान्य जिम्मेवारी नेकपाको काँधमा आएको बताइन् ।
नेता शिलु सीले नेकपाको नेतृत्वमा समाजवाद आउने बताउँदै महासचिव विप्लवलाई हेरेरै पनि पार्टीभित्रका नेता कार्यकर्ता जागरिला हुनुपर्ने बताइन् । उनले नेताहरुले पार्टीको काममा भन्दा व्यक्तिगत काममा जोड दिदा पार्टी सङ्गठन बन्न नसक्ने भन्दै अरुको आलोचना मात्रै गरेर नभई आफूले आफ्नो जिम्मेवारी पूरा गर्न जरुरी रहेको बताइन् ।
नेता शिलु सीले पार्टीले अहिले नयाँ ढङ्गले क्रान्ति गर्न खोजेको भन्दै समय सापेक्ष विचारको विकास गरेको बताइन् । उनले विप्लव नेपालको लागि ब्राण्ड बनिसकेको भन्दै पार्टीले लिएको नयाँ आर्थिक मार्ग उत्पादनसहितको राजनीतिले थप जनताको बिचमा थप लोकप्रिय बनेको नेता बताइन् ।उनले पोखरामा प्रदेशस्तरीय विशाल जनसभा गर्न लागेको भन्दै सबैले पहल गरेर जनसभालाई सफल पार्नुपर्नेसमेत बताइन् ।
यसैगरी , उक्त बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम् स्याङजा जिल्ला इन्चार्ज उभार सीले पार्टीका योजनामा गम्भीरतापूर्वक लागेमा स्याङजा जिल्लामा पार्टीलाई प्रभावकारी उपस्थित बनाउन सकिने बताए । उनले जुन स्तरमा परिणाम आउने गरी पार्टी बन्नुपर्थ्यो बनेन, तर अब भने परिणाम ल्याउने गरी सबै कमरेडहरु काममा लाग्नुपर्ने बताए । नेता उभारले पार्टी बैठकले तोकेको कुराहरु लागू गर्न निर्देशन समेत दिए ।
यसैगरी , नेकपाका युवा नेता एवम् जनपत्रकार सङ्गठनका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले स्याङ्जाको लंकाकोट ग्रामिण पर्यटकीय क्षेत्र भएकोले यसको थप विकासलाई सहयोग पुगोस् भनी यहाँ बैठक राखेकोमा आयोजक नेकपालाई धन्यवाद दिए । उनले राष्ट्रिय रुपमा स्याङ्जाको उपस्थिति निकै प्रभावशाली भएकोले नेकपाले स्याङ्जामा हस्तक्षेपकारी उपस्थिति जनाउन जरुरी रहेको बताए ।
नेता डुम्रेले जिम्मेवारीको हिसाबले केन्द्रमा रहेपनि स्याङ्जाको प्रशासनिक कामदेखि यहाँका विकृतिका बारेमा सधै विषय उठान गर्ने र खबरदारी गर्ने र आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
उक्त बैठकले युवा, विद्यार्थी, मजदुर, महिला लगायत जनवर्गीय सङ्गठन निर्माण गर्ने निर्णय गरेको छ भने पार्टीले भ्रष्ट्राचार, मिटरब्याजी, सहकारी ठगी लगायतका विषयमा जिल्लाको अनुकूलतामा सङ्घर्ष गर्ने निर्णय पनि गरेको छ । आगामी स्ववियु निर्वाचनलाई केन्द्रमा राखेका स्याङ्जामा निर्वाचन हुने कलेजहरुमा सङ्गठन निर्माणलाई जोड दिने निर्णय पनि भएको छ । पार्टीले पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु गर्नेपनि जनाएको छ । पार्टीले स्याङ्जा जिल्लामा रहेका स्थानीय ग्रामिण पर्यटकीय क्षेत्र विकासको लागी आवश्यक पहलकदमी लिनेबारे पनि छलफल गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी दुर्गा सीको अध्यक्षतामा सम्पन्न भएको बैठकले उत्पादनलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]