‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले समाजवादका लागि संविधान संशोधन गर्न अपिल गरेका छन् । ३० औं जनयुद्ध दिवसका अवसरमा विपिन भण्डारी फाउण्डेसनद्वारा सल्यानको वागचौरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन्।
महासचिव विप्लव सीले जनतालाई अधिकार सम्पन्न गर्न संविधान संशोधन आवश्यक भएको बताउदै भने- ‘कांग्रेस, एमाले, माओवादीलाई ठुलो भाग दिन होईन, समाजवादका लागि संविधान संशोधन गरौं’ महासचिव विप्लवले भन्नु भयो, ‘जनताको गणतन्ब बनाउन संविधान संशोधन गरौं, कसैले संविधान संशोधन गरौं भन्ने कसैले गर्न हुदैन भन्ने वहस गर्नु भन्दा जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन गरौ ।’

महासचिव विप्लव सीले जनयुद्ध नभएको भए सय वर्षसम्म देश सामन्तवादको कब्जामा हुने बताए । उनले माओवादी आन्दोलनकै कारण सामन्तवादको अन्त्य भएको ठोकुवा गर्दै भने- ‘जनयुद्ध कुनै पार्टीविरुद्ध गरेको विद्रोह होइन । सामन्तवादको विरुद्ध गरेको मुक्तियात्रा थियो । जनयुद्ध सिङ्गो नेपाली जनताको पर्व हो । कसैले बिर्सन नसक्ने ढुंगामा लेखिएको अक्षरभन्दा पनि गहिरो हो । जनयुद्धमा ल्याएको परिवर्तनलाई सबैले गर्व गर्न म आग्रह गर्न चाहन्छु । जनयुद्ध नभएको भए देश आज पनि सामन्तवादको कब्जामा हुन्थ्यो । सय वर्ष सामन्तवादको पाउमुनी हुन्थ्यो । माओवादी आन्दोलनले सय वर्ष अगाडि परिवर्तन आएको छ । परिवर्तनको उपभोग माओवादीले मात्र गरेका छैन । सबैले उपभोग गरेका छन् । दलित, महिला, मधेसी, उत्पीडित जनताले अधिकार पाएका छन् ।’


महासचिव विप्लव सीले जनयुद्ध भनेको जनताको न्यायपूर्ण युद्ध भएको टिप्पणी गर्दै इतिहासप्रति इमान्दार नहुनेहरुले जनयुद्धको विरोध गरेको बताए । उनले माओवादीभित्रका केही नेताहरु शान्ति प्रक्रियापछि सम्पति थुपार्ने र पैसा लुकाउने ठाउँमा पुगेर विग्रएको आफ्नै आँखाले देखेपछि उनीहरु नसच्दिा आफूहरु नमिलेर अलग भएको बताउदै जनयुद्धको सपना विपरित माओवादी विग्रीनु नेपाली जनताका लागि धोका भएको ठोकुवा गरे । उनले भने -‘जनयुद्धको समयमा विदेशीयका युवाहरु समेत नेपाल आउने अवस्था थियो, रोल्पाको सहिद मार्ग बनाउदा विदेशी समेत बाटो खन्न आएका थिए। अहिले देशमा उल्टो भयो, सबै युवाहरु विदेशीन थाले, गाउँमा वुढा वुढी मात्र छन, विदेशमा गएर अर्काको छाडु पुछा लगाउन तयार हुने तर नेपालमा श्रम गर्न नचाहने अवस्था भयो । यो बदल्नु पर्छ । यो राष्ट्रिय वहसको विषय बनाउनु पर्छ ।’


यसैगरी, महासचिव विप्लव सीले दलाल पुँजीवाद अन्त्य गरेर समाजवाद ल्याउने र जनताको व्यवस्था ल्याउने अभियानमा एकपटक नेकपालाई विश्वास गरी साथ दिन समेत अपिल गरे ।

प्रतिक्रियाहरु

[anycomment]