‘गफ चुट्ने नेताबाट रूपान्तरण सम्भव छैन’

२०८१ फाल्गुन १९ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले गफ चुट्ने नेताबाट रूपान्तरण सम्भव नभएको ठोकुवा गरेका छन्। नेकपा कम्युनिस्ट पार्टी द्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले विदेशीसँग सहयोगको नाममा भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि नहुने ठोकुवा गर्दै भने – ‘गफ चुट्ने नेताबाट रूपान्तरण सम्भव छैन । विदेशीको भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि हुँदैन । अहिले देशको उत्पादनले २ महिना खान नपुग्ने नेपाल भइसक्यो ‌। यसले विदेशीको एजेन्ट बनाउनतर्फ अग्रसर गराउँछ।’
यसैगरी, महासचिव विप्लव सीले कम्युनिस्ट नेताहरूमा आवारा प्रवृत्ति हाबी भएको बताउँदै उत्पादन अभियानमा जोडिनुको विकल्प नभएको बताए । उनले राजनीतिक आन्दाेलनलाई उत्पादन, आर्थिक क्रान्तिमा जोड्न सकिए मात्र देश चाँडै परिवर्तनको दिशामा जान सक्ने ठोकुवा गरे। उनले भने- ‘कृषि क्रान्तिलाई अगाडि बढाउन सकियो भने राम्रो परिणाम ल्याउन सकिन्छ भनेर हामी लागेका छाैं। अहिले हाम्रो पार्टीमा चन्दा माग्नुपर्ने अवस्था छैन। डेढ वर्षमा नै राम्रो भएको छ।’
महासचिव विप्लव सीले राजनीतिक गर्ने मान्छेले श्रम नगर्ने भन्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताउदै जुम्लामा ७ सय स्याउका बिरुवा रोप्नुका साथै कालिकोटमा भेडा फार्म उद्घाटन गरिएको जानकारी दिए । उनले ९० वटाबाट सुरु गरिएको भेडा फार्ममा अहिले करिब १५० भेडाहरू रहेको बताउदै भने- ‘जनताले पनि सहयोग गरेका छन्, धागो, कपडा उद्योगको विषयमा पनि कुरा भएको छ, हामी गर्छौँ।’
महासचिव विप्लव सीले उत्पादन विना सुखभोग गर्ने कुरा राम्रो नभएकाले आफैबाट सुरुवात गरेको समेत बताए ।

प्रतिक्रियाहरु

[anycomment]