‘प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न क्रान्तिकारी राजनीतिक दल र नेता सक्रिय हुनुपर्छ’

काठमाडौँ । बुद्धिजिवी तथा नागरिक अगुवाहरुले प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न क्रान्तिकारी राजनीतिक दल र नेताहरुनै सक्रिय हुनु पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालद्वारा यहि चैत २ गते आयोजित बुद्धिजिवी तथा नागरिक अगुवाहरुसँग परामर्श कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न क्रान्तिकारी राजनीतिक दल र नेताहरुनै सक्रिय हुनु पर्ने बताएका हुन् ।
उक्त कार्यक्रमका वक्ताहरुले लोकतन्त्र ल्याउन भूमिका निर्वाह गरेका दलहरू पटकपटक सरकारमा गए पनि आम मानिसको जीवनस्तरमा सकारात्मक प्रभाव पार्न चुकेको बताउदै त्यसै कारण जनतामा निराशा र आक्रोश बढ्दै गएको बताएका थिए । उनीहरुले राजनीतिक दलकै कारण राजावादीको गतिविधि बढ्दै गएको उल्लेख गर्दै राजनीतिक दल र नेताहरुले सरकार र बाहिर रहेर राम्रो काम गर्न सुझाव दिए।
उक्त कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक दलले सत्ताका लागि आफ्ना प्रतिबद्धताहरू भुलेकाले राजावादी शक्ति सलबलाएको बताए ।
यसैगरी, उक्त कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै आर्थिक विश्लेषक चन्द्रमणि अधिकारीले सरकार राम्रो काम गर्न चुकेका कारण निराशा बढ्नु स्वाभाविक भएको टिप्पणी गरे । उनले भने- ‘युवा पुस्ताले राजाको शासन देखेकै थिएन । त्यसबेला कस्तो थियो पढाउने काम पनि भएन। पछिल्लो पुस्तासँग काम र दाम छैन । त्यसैले राजतन्त्र ठीक थियो कि भन्ने भयो । नयाँ पुस्तालाई तथ्यमा आधारित भएर पढाउनुपर्यो ।’
यसैगरी, उक्त कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै राष्ट्रिय मानवअधिकार आयोगका पूर्वआयुक्त मोहना अन्सारीले प्रतिपक्षको भूमिका कमजोर देखिएको उल्लेख गर्दै प्रतिपक्षले आफ्ना कार्यक्रम सत्ताको भर्याङका लागि नबनाउन आग्रह गरिन् ।
यसैगरी , उक्त कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रमुख राजनीतिक दलको कारण असन्तोष र आक्रोश बढेको भन्दै दलहरू सच्चिएर राम्रो काम गरे गणतन्त्र संस्थागत हुने बताए । उनले भने- ‘राजावादीलाई गाली गर्नुभन्दा गणतन्त्रवादी आफू सच्चिनुपर्यो । नेपालमा प्रत्येक १० वर्षमा आन्दोलन हुने गरेको छ । पटकपटक सरकारका गएका दलहरूले राम्रो काम गर्न सकेको भए यो असन्तुष्टि बढ्ने थिएन ।’
पोखरेलले अब मुलुकलाई पछाडि फर्कनबाट रोक्न प्रमुख नेताको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै युवा पुस्तालाई नेतृत्वका लागि अघि सार्न सुझाव दिए ।

यसैगरी, उक्त कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले विश्वभरि नै दक्षिणपन्थीको लहर आएका बेला त्यसको केही प्रभाव पर्नु स्वाभाविक भएको उल्लेख गर्दै आवश्यक परे प्रमुख दलबीच सहमति हुनुपर्ने सुझाव दिए ।
यसैगरी, उक्त कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै पूर्वराजदूत महेश मास्केले राजनीतिक दल पटकपटक सरकारमा जाने तर कार्यसम्पादनमा कमजोर भएकाले त्यसको प्रभाव समाजमा परेको उल्लेख गरे । उनले भने- ‘जुलुसविरुद्ध जुलुस निकालेर केही हुन्न । वामपन्थी मिलेर अघि बढे परिस्थिति आफ्नो अनुकूलतामा आउँछ । ’
यसैगरी, उक्त कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै कानुनविद् गोविन्द बन्दीले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न दलहरू चुकेकाले यो व्यवस्थाविरुद्ध प्रश्न उठ्ने अवस्था आएको बताए भने कानुनविद् चन्द्रकान्त ज्ञवालीले आत्मनिर्भर हुने समाजवादी कार्यक्रम ल्याउन दलहरूले श्वेतपत्र जारी गर्नुपर्ने बताए ।
यसैगरी, उक्त कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै संघीयताविज्ञ खिमलाल देवकोटाले राजनीतिक दलले आफ्नो काम गर्न छाडेर पूर्वराजावादीलाई महत्त्व दिएको बताए । उनले भने -‘राजावादीको प्रदर्शनलाई महत्त्व दिन जरुरी थियो र ? राजनीतिक दलले हालसम्म के गरे ? आत्मसमीक्षा गरेर सच्चिनुपर्छ। समाजवादको पक्षमा गर्न सकिने काम इमानपूर्वक गर्नुपर्छ ।’