नेकपाले एमसीसी रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्राचार गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्राचार गर्ने जनाएको छ। सो पार्टीको एमसीसी सरोकार समितिले स्थगित गरेको एमसीसी परियोजनालाई पुन: निरन्तरता दिएको प्रति गम्भीर आपत्ती जनाउदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्राचार गर्ने जनाएको हो ।
समितिका संयोजक तथा नेकपाका स्थायी समिति सदस्य भरत सीले सोमबार एक वक्तब्य जारी गर्दै एमसीसीले फेरी निरन्तरता पाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै एमसीसी सरोकार समितिको तर्फबाट एमसीसी रोक्न अमेरिकी राष्ट्रपतिलाई पत्राचार जनाएका हुन् ।
एमसीसी सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सरकारको ९० दिनको लागि स्थगन गर्ने निर्णय स्वागतयोग्य भएपनि पछिल्लो समय त्यसलाई निरन्तरता दिने भनी नेपाली समाचारपत्रहरुमा प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्ल्लेख छ ।
संयोजक भरत सीद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘हामी यथास्थितिमा एमसीसी लागु नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरि नेपालको संविधान-कानुन मातहत रहने सुनिश्चितता गरेर मात्रै अघि बढ्न नेपाल सरकार र सम्बन्धित पक्षसंग हार्दिक अनुरोध गर्दछौ । अन्यथा नयाँ स्तरको जनआन्दोलनद्वारा एमसीसी र त्यस्का पक्षधरहरु बढारिनेछन् ।”