‘गणतन्त्रको बिकल्प राजतन्त्र हुनै सक्दैन’

२०८१ चैत्र २० गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले गणतन्त्रको बिकल्प राजतन्त्र हुनै नसक्ने ठोकुवा गर्दै अबको बिकल्प नेपाली विशेषताको समाजवाद भएको बताएका छन् । मंगलबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले ज्ञानेन्द्र शाहले धेरै ठूलो मुर्खता गर्न खोजेको ठोकुवा गर्दै शाहले आफुलाई नसच्याए धेरै ठूलो मूल्य चुकाउनु पर्ने बताए ।
उनले गणतन्त्रको विरोधीहरु विदेशी दलाल र सामन्तवादी रहेको ठोकुवा गर्दै गत चैत १५ गते काठमाडौंमा भएको हिंसात्मक घटनाको डिजाइनर पूर्वराजा ज्ञानेन्द्र नै रहेको बताए । उनले गणतन्त्रको बिकल्प राजतन्त्र हुने नसक्ने बताउदै भने – गणतन्त्रको अभ्यासको क्रममा देखिएका सिमा र त्यसका बारेमा प्रश्न उठ्ने गरेको सहि हो। तर यसको समाधान क्रान्तिकारी , अग्रगामी र जनताको प्रतिनिधित्व गर्ने व्यवस्था हो। त्यो व्यवस्था भनेको नेपाली विशेषताको समाजवाद हो।’


प्रवक्ता प्रकाण्ड सीले राजावादीहरु र पूर्वराजा ज्ञानेन्द्रबाट देशलाई द्वन्द्वतिर लैजाने खोजेको बताउदै त्यसलाई रोक्नका लागि सबै राजनीतिक दल एक हुनु्पर्ने बताए । उनले भने- ‘अहिले राजावादीहरु र ज्ञानेन्द्र शाहले गणतन्त्रको खिलाफमा हर्कत गरिरहेका छन्, गतिविधि गरिराखेका छन् । यसले के देखाउँदै छ भने देशलाई फेरि द्वन्द्वतिर धकेलिँदैछ । हामीले विचार गरिराख्ने कुरा नेपालका राजनीति पार्टी हामी नेपाल कम्युनिष्ट पार्टी पनि, विगतमा १० वर्ष जनयुद्ध सञ्चालन गरेका नेताहरु पनि हामी धेरै सिरियस छौं । ज्ञानेन्द्र शाह र प्रतिगामीहरुको कारणले गर्दा देश त फेरि द्वन्द्वमा जाँदैछ । उनीहरुले द्वन्द्वमा लाँदैछन् । देशलाई द्वन्द्वबाट बचाउनका निम्ति सबै राजनीतिक दल एक हुनुपर्छ । ’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न कुनै योगदान नरहेका दल र नेताहरुलाई संकेत गर्दै उनीहरुलाई यो व्यवस्थाको माया पनि नरहेको बताए उनले भने- ‘जसले गणतन्त्रको निम्ति फुटेको कौडी बराबर काम गरेको छैन, उसलाई के माया र मोह हुन्छ र ? बच्चाको सबैभन्दा बढी माया आमालाई हुन्छ । जसले गर्भधारण भएबाट नौ महिना बोक्छ, त्यसपछि जीवनमरणको संघर्षबाट बच्चा जन्माउँछ । बुबा र आमालाई तुलना गर्नुभयो भने बुबाभन्दा आमाको बढी माया हुन्छ । यही कुरा राजनीतिमा पनि लागू हुन्छ । ’

प्रतिक्रियाहरु

[anycomment]