‘नयाँ वर्ष २०८२ ले विद्यमान चुनौतीहरूको सामना गर्दै सकारात्मक परिवर्तन ल्याउछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नयाँ वर्ष २०८२ ले विद्यमान चुनौतीहरूको सामना गर्दै सकारात्मक परिवर्तन ल्याउने बताएका छन्। नयाँ वर्ष २०८२ को अवसरमा भिडियो सन्देशमार्फत उनले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले नयाँ वर्षको पहिलो बिहानीसँगै सुरु भएको २०८२ सालले सबैको जीवनमा रचनात्मकता, सिर्जनात्मकता, आशा, जोस र ल्याओस् भन्ने कामनासमेत गरेका छन्। उनले बितेको वर्ष २०८१ ले सबैलाई केही न केही उपलब्धि, खुसी, विश्वास र शिक्षा दिएको उल्लेख गर्दै केही क्षति, पीडा र आशंका पनि थपेको बताए ।
महासचिव विप्लव सीले नयाँ वर्षले नयाँ सोच, विचार, आशा, सक्रियता र आत्मविश्वास जगाउने विश्वास व्यक्त गरेका छन् । उनले २०८१ सालमा देशभित्र राजनीतिक स्थिरताका लागि अग्रगामी रूपान्तरण र नेपाली विशेषताको समाजवादबारे केही नयाँ छलफल तथा सहकार्य गर्ने सफलता मिलेको उल्लेख गर्दै आर्थिक रूपले देशभित्र केही गरौं भन्ने भावना जागृत भएको, राष्ट्रिय जनसंस्कृतिहरूप्रति जागरुकता बढेको र शिक्षा, स्वास्थ्य, रोजगारीका लागि बहसहरू भएको बताए।
महासचिव विप्लव सीले श्रम, संघर्ष र अनुसन्धान गरे देशलाई बनाउन सकिन्छ भन्ने शिक्षा प्राप्त भएको उल्लेख गर्दै २०८१ सालभित्र दलाल पुँजीवादी सत्ताले लादेको अस्थिरता, सरकार ढाल्ने बनाउने खेल, भ्रष्टाचार, राष्ट्रिय आत्मसमर्पण, विदेशी हस्तक्षेप र प्रतिगमनकारी अराजकता भोग्नुपरेको बताए । उनले आर्थिक क्षेत्रमा संकट कायमै रहेको, सांस्कृतिक क्षेत्रमा अतिक्रमण र हस्तक्षेप बढेको र जनता बेचैनी तथा निराशाबाट मुक्त हुन नसकेको बताए ।
महासचिव विप्लव सीले नयाँ वर्षले यी चुनौतीहरूको सामना गर्दै सकारात्मक परिवर्तन ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।