‘नेपाली जनताले समाजवाद चाहेका छन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले नेपाली जनताले समाजवाद चाहेका ठोकुवा गर्दै देशलाई यथास्थितिबाट निकास दिनुपर्ने बताएका छन । मंगलबार घोराहीमा बसेको नेपाल कम्युनिस्ट पार्टी दाङको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता विषम सीले भने– ‘मुलुक आज संकटग्रस्त अवस्थाबाट गुज्रिएको छ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगाएतका हरेक क्षेत्रमा संकट छ । यसको मुल कारण अहिलेको राजनीतिक व्यवस्थाका कारणले पैदा भएको संकट हो । हाम्रो पार्टीले यसको समाधान अहिलेको संसदीय पुजीवादी व्यवस्थाको विकल्पमा नेपाली बिशेषताको समाजवाद भनेका छौँ । तर यहाँ केही प्रतिगामी प्रेतहरुले यथास्थितिको समाधान पछाडि फर्केर, सामन्तवादी व्यवस्थाको वकालत गरिरहेका छन् । राजतन्त्र यथास्थितिको समाधान होइन्, यो कसैले चाहेर फर्किनेवाला छैन । नेपाली जनताले चिहानमा सेलाइसकेको राजतन्त्र फर्केर आउनेवाला छैन । नेपाली जनताले समाजवाद चाहेका छन्, अब मुलुक समाजवादतिर जाँदैछ ।’
नेता विषम सी ले ०८४ को निर्वाचनबारे पार्टी नेताकार्यकर्ता भ्रममा नपर्न अपिल गर्दै भने– ‘ हाम्रो कार्यदिशा एकीकृत जनक्रान्ति हो । यो जनयुद्ध तरिकाको लडाइँ होइन । मालेमावादमा थप विकास गरिएको मौलिक कार्यदिशा हो एकीकृत जनक्रान्ति । ०८४ को निर्वाचन हाम्रा लागि कार्यदिशाको एउटा अंश हो । संसदीय निर्वाचनलाई पार्टीले संघर्षको मोर्चा बनाएर प्रयोग गर्ने सोचेको हो । यो कार्यनीतिक कुरा हो । हामीलाई र हाम्रो पार्टी र क्रान्तिका विरुद्ध भ्रम अनेक ढंगले चलाइएका छन्, नेताकार्यकर्ता भ्रममा पर्नु हुँदैन । हामीले क्रान्ति छोडेका होइनौं, छाड्दैनौँ बरु यो निर्णायक क्रान्तिको तयारी हो ।’
यसैगरी, नेता विषम सीले नेताकार्यकर्तालाई पार्टीको आत्मनिर्भर उत्पादन नीतिलाई अझै व्यापक बनाउन निर्देशन दिए । उनले पार्टीले चलाएको श्रम, संघर्ष र अनुसन्धानको स्कुल नै आजको दुनियाँ बदल्ने स्कुल भएको ठोकुवा गरे ।
नेता विषम सीले जिल्लामा नेपाली विशेषताको समाजवादका बारेमा जनतालाई स्पष्ट बनाउने खालका अभियान तथा कार्यक्रम बनाउन सुझाव दिए ।
नेपाल कम्युनिस्ट पार्टी दाङको उक्त सचिवालय बैठकले बैशाख १२ गते घोराही र १३ गते तुलसीपुरमा समाजवादका लागि सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको बताइएको छ ।
यसैगरी, उक्त बैठकले पार्टी प्रदेश समितिको निर्णयको कार्यान्वयन गर्दै वरिष्ठ गीतकार मणी थापा, जनवादी कलाकार माइला लामा सहितका वरिष्ठ जनवादी कलाकारहरुको विशेष उपस्थितिमा कार्यक्रम गरिने जानकारी दिएको छ ।
यस्तै बैठकले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (महान)को स्मृतिमा निर्माणाधीन स्मृति पार्कको निर्माण कार्यलाई अविलम्ब सम्पन्न गरि पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा भव्य जनसभासहित शालिक अनावरण गर्ने निर्णय गरिएको पार्टीका जिल्ला सचिव तिलक सीले बताए ।
सचिवालयको पहिलो बैठकले प्रतिगामी षडयन्त्रको विरुद्धमा भण्डाफोर अभियान चलाउने, भ्रष्टाचारका विरुद्ध जनसंघर्ष चर्काउने, मिटरव्याज, लघुवित्तीय आतंकका विरुद्धमा अभियान चलाउने, जिल्लाका प्रमुख शहरहरुमा राजनितिक अन्तरक्रिया कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
उक्त बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्यहरु विक्रम सी, सम्झना सी, प्रदिप सी, विकास सी, निर्मल सी, जिवनी सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम अखिल (समाजवादी) का केन्द्रीय सचीव एवम लुम्बिनी प्रदेश इन्चार्ज मदन सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम अखिल (समाजवादी)का सचिवालय सदस्य अनिल सी सहित पार्टी दाङ जिल्लामा कार्यरत पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यहरुको आतिथ्यता रहेको थियो ।
चौथो आवधिक योजनाको जिल्ला सचिवालयको प्रथम बैठकको अध्यक्षता एवम सहजीकरण पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सचिव तिलक सीले गरेका थिए ।