मजदुरहरूको अधिकार सुनिश्चिताका लागि समाजवाद अपरिहार्य

२०८२ बैशाख १९ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले मजदुरहरूको अधिकार सुनिश्चिताका लागि समाजवाद अपरिहार्य भएको ठोकुवा गरेका छन । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले श्रमिक, महिला र सर्वसाधारणले विगतको तुलनामा केही अधिकार प्राप्त गरेपनि ती अधिकारहरू अझै पर्याप्त नभएको उल्लेख गर्दै लोकतन्त्रभन्दा समुन्नत व्यवस्था समाजवाद भएकोले सम्पूर्ण मजदुरहरूको अधिकार सुनिश्चिताको लागि समाजवाद अपरिहार्य भएको बताए ।
महासचिव विप्लव सीले राजतन्त्रको कठोरता र जनतामाथिको दबाबको bishay कोट्याउदै भने- “राजतन्त्र र पञ्चायतमा बोल्न पनि पाइँदैनथ्यो, आज हामी स्वतन्त्र नागरिक भएका छौँ, जुन ठूलो उपलब्धि हो ।” उनले स्पष्ट रूपमा भने, “२१औँ शताब्दीमा राजतन्त्र फर्किन्न, फर्किनु हुँदैन । नेपाली जनताले ठूलो संघर्ष गरेर गणतन्त्र ल्याएका हुन् । कतिपय नेताहरूले वर्तमान व्यवस्था नै लोकतन्त्र हो भन्छन्, तर साँचो समुन्नत व्यवस्था भनेको समाजवाद हो ।”
महासचिव विप्लव सीले सम्पूर्ण वामपन्थी, कांग्रेस र अन्य राष्ट्रवादी शक्तिहरूलाई समाजवादबारे बहस गर्न aagrah गर्दै भने- ‘अहिलेको गणतन्त्र न त जनताले चाहेको हो, न त माओवादीले कल्पना गरेको हो । यो गणतन्त्र सम्झौतामा टुंगियो र दलाल पुँजीपतिहरूको हातमा पुगेको छ। ‘
महासचिव विप्लव सीले माओवादी आन्दोलनका मूल उद्देश्यलाई पुनर्संयोजन गर्न प्रचण्ड, बाबुराम, वैद्यदेखि बादलसम्मलाई एकताबद्ध हुन आह्वान गरे । उनले देशमा व्याप्त भ्रष्टाचार, प्रशासनिक अराजकता र जनआन्दोलनहरूको उल्लेख गर्दै भने- “रेशम चौधरीलाई एक कर्मचारीले समात्न पठाउँछ, अर्कोले छोड्छ । शिक्षक, चिकित्सक आन्दोलनहरू पनि गम्भीर छन् ।”
महासचिव विप्लव सीले नागरिकतादेखि मालपोतसम्म घुसकै खेल चलिरहेको बताए। उनले जनतालाई सत्तामा आएपछिको नेकपाबारे भ्रम नराख्न आग्रह गर्दै भने- “हामी एक पटक यो देशको नेतृत्व गर्न चाहन्छौँ र देखाउन चाहन्छौँ कि नेकपा के हो ।”
उनले युवाहरू, बुद्धिजीवि, महिला, विद्यार्थी, चिकित्सक, शिक्षक र विदेशमा रहेका नेपालीहरू पनि आजको व्यवस्थाबाट सन्तुष्ट नभएको बताउँदै ‘नेपाली विशेषताको समाजवाद’ अगाडि सारिएको स्पष्ट गरे । उनले भने- “कहिलेकाहीँ पार्टी सदस्यको लिस्ट देखाएर दम्भ नगरौँ, अब त्योबाट देश चल्दैन । देशको मार्ग परिवर्तन भइसकेको छ। देश मरेको छैन, देशका मानिस मरेका छैनन् । नेकपा अझै मैदानमा छ।”
यसैगरी, उक्त जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश इन्चार्ज शिलु सीले नेपाली विशेषताको समाजवादमा अगाडि बढ्ने नेकपाको दृष्टिकोण दोहोर्याउँदै सम्पूर्ण देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एक ढिक्का हुन आह्वान गरिन् ।
उनले भनिन्- “जबसम्म समाजवाद आउँदैन, तबसम्म मजदुरले उचित तलब पाउँदैनन् र महिलाले अधिकार सुनिश्चित गर्न सक्दैनन् ।”
उक्त कार्यक्रममा समाजवादी मोर्चाका प्रदेश संयोजक तथा नेकपाका पोलिट ब्युरो सदस्य राजन सी, समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष टेक सी, सहिद परिवारको तर्फबाट अखिल (समाजवादी) का सचिव प्रकाश सी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेक थिए ।
नेकपाका पोलिट ब्युरो सदस्य आजाद सीले सन्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य पोलिटब्युरो सदस्य आस्था सीले राखेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]