नेकपाद्वारा बसवराजुको कायरतापूर्ण हत्याको घोर भत्सर्ना

२०८२ जेष्ठ १६ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘बसवराजु’ सहित २६ जना गरिएको कायरतापूर्ण हत्याको घोर भत्सर्ना गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव बसवराजुसहित २६ जनाको कायरतापूर्ण हत्याको घोर भत्सर्ना गरेका हुन् ।
महासचिव विप्लव सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ’राजनीतिक नेतृत्वको यस्तो अमानवीय, अराजनीतिक, अनैतिक हत्याको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीका लागि पहल गर्न अन्तर्राष्ट्रिय समुदाय, मानवधिकारवादी संघ-संस्थाहरुलाई ध्यानकर्षण गराउँदछौँ ।’
महासचिव विप्लव सीद्वारा जारी विज्ञप्तिमा सत्ताको बलले जति नै हत्या, नरसंहार मच्चाएपनि लुटेराहरुको क्षणिक आत्मरती मात्र भएको र सत्य एवं न्यायको लडाईं विजयी भइ छोड्ने उल्लेख छ ।
यसबिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘ २०८२ जेठ ८ पछि भाकपा (माओवादी) का महासचिव कमरेड बसवराजुको साहदत भयो भन्ने प्रचारले विश्व तरङ्गित बन्यो । जेठ १३ मा भाकपा (माओवादी) को डण्डकारण्य स्पेशल जोनका प्रवक्ता कमरेड विकल्पको आधिकारिक वक्तव्य आएपछि स्पष्ट भएको छ कि कसरी कमरेड बसवराजुको साहदत भयो । साहदतको खबरले हाम्रो पार्टी र नेपाली श्रमिकवर्गलाई स्तब्ध एवं मर्माहत बनाएको छ ।
भारतीय जनताको मुक्ति, नयाँ जनवाद वैज्ञानिक समाजवादका लागि क्रान्तिका मोर्चामा निर्भिकतापूर्वक लड्दै उच्च साहदत प्राप्त गर्ने भाकपा (माओवादी) का महासचिव कमरेड बसवराजुसहित २६ जनता महान सहिद कमरेडहरुप्रति अन्तर्राष्ट्रिय भाइचारा भावनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । कुशल एवं साहसी नेतृत्वको साहदतबाट मर्माहत भएका भाकपा (माओवादी) पार्टी परिवार, सहिदहरुका आफन्त जन, भारतीय श्रमिक जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । साथै माओवावदी नेतृत्वले राजनीतिक सम्बाद एवं वार्ताका लागि युद्ध विराम गरेर समस्या समाधानका लागि पहल गर्दागर्दै पार्टीभित्रका गद्दार, भ्रष्ट, आत्मसमर्पणकारी तत्वहरुलाई प्रयोग गरेर भारतीय साम्राज्यवादी सत्ताले संचालन गरेको विनासकारी हत्या अभियान एवं जिउँदै समाएर महासचिव कमरेड बसवराजुलाई गरिएको कायरतापूर्ण हत्याको घोर भर्त्सना गर्दछौं । राजनीतिक नेतृत्वको यस्तो अमानवीय, अराजनीतिक, अनैतिक हत्याको निश्पक्ष छानवीन र दोषीलाई कार्यवाहीका लागि पहल गर्न अन्तर्राष्ट्रिय समुदाय, मानवधिकारवादी संघ-संस्थाहरुलाई ध्यानकर्षण गराउँदछौं । हामीलाई राम्रो जानकारी छकि १९६० को दशकदेखि भारतका किसान-मजदुर, आदिवासी, महिला, श्रमिक समुदाय, बुद्धिजीवी, विद्यार्थीहरु आफ्नो मुक्ति एवं भारतमा नयाँजनवाद – वैज्ञानिक समाजवाद स्थापनाका लागि महान जनयुद्ध चलाई रहेका छन् । भाकपा (माओवादी) ले अनेकौं उचारचढावसहित दशकौंदेखि सफल नेतृत्व गर्दै
आएको छ । भारतीय सत्ताले स्वीकार गरे अनुसार पनि सातवटा भन्दा बढी प्रदेश, सय बढी जिल्लाका करोडौं जनताका बीच प्रभाव जमाएर (माओवादी) ले क्रान्ति बढाइरहेको छ । शक्तिशाली भनिने भारतीय साम्राज्यवादी सत्ताविरुद्धको यो क्रान्तिकारी प्रकृयामा भाकपा माओवादीले जति सफलता हासिल गरेको छ बलिदान पनि त्यही उचाइमा गर्दै आएको छ । १९७२ मा महासचिव कमरेड चारु मजुमदारको साहदतपछि कमरेड महासचिव बसवराजुको साहदत हुन पुगेको छ । भारतीय श्रमिक जनताका लागि यो ज्यादै पीडाले भरिएको गौरवपूर्ण पक्ष हो ।
हामीले बुझेका छौं क्रान्तिको मूल्य ज्यादै चर्को हुन्छ । परन्तु चर्को मूल्यको बलमा नै मानव जातिले नवीन एवं महान् सभ्यताको ढोका खोल्दै आएको छ ।
भाकपा (माओवादी) ले पछिल्लो राजनीतिक इतिहासमा जनतको लागि जुन उच्च मूल्य चुकाएको छ त्यसको महत्व र उपलब्धि पनि एकदिन प्रमाणित हुने छ । सत्ताको बलले जाति नै हत्या, नरसंहार मच्चाए पनि जति नै सफलताको हल्ला फैलाए पनि त्यो लुटेराहरुको क्षणिक आत्मरति मात्र हो । सत्य र न्यायको लडाइ विजयी भइ छोड्छ ।
अन्तमा महासचिव कमरेड बसवराजुलाई उच्च सम्मान गर्दै उहाँको बलिदनले विश्व श्रमिकवर्गको मुक्ति मार्गमा युगयुगसम्म उज्यालो प्रकास दिने छ भन्ने विश्वास व्यक्त गर्दछौं । यो पीडाको घडिमा नेपाल कम्युनिस्ट पार्टी भाकपा (माओवादी) र भारतीय श्रमिक जनतासँग एकसाथ रहेको जानकारी गराउँदै विश्वभरीका कम्युनिस्ट एवं श्रमिकवर्गलाई भाकपा (माओवादी) सँग एकाकार बन्न विशेष अपिल गर्दछौं ।’

प्रतिक्रियाहरु

[anycomment]