‘सामन्तवादको जरा काट्न नसक्दा गणतन्त्र बदनाम भयो’

नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले सामन्तवादको जरा अझै काट्न नसक्दा गणतन्त्र बदनाम भएको ठोकुवा गरेका छन्। जनपत्रकार संगठनद्वारा बिहीबार बुटवलमा आयोजित ‘गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्ण सेनको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले ठूला शक्तिले पुरानै लठ्ठी चलाएर अब केही नहुने बताउदै भने- ‘देशका विभिन्न ठाउँमा पुगेर जनताका आवाज सुन्दा अहिलेको गणतन्त्रप्रति कोही खुशी छैनन्। असन्तुष्टिको दोषी गणतन्त्र होइन । सामन्तवादको जरा अझै काट्न नसक्दा गणतन्त्र बदनाम भइरहेको छ । नेताले भोग गरेको जीवन अवैध हो, नागरिकलाई वास्तविक गणतन्त्रको अनुभूति छैन ।’
महासचिव विप्लव सीले दलहरूको पश्चगामी सोचका कारण राजनीतिमा नयाँ शक्तिहरू उदाएको ठोकुवा गर्दै पुराना दलहरू स्पष्ट दृष्टिकोण दिएर जनतामा आउन नसक्दा देशमा रवि र बालेनहरू जन्मिएको बताए ।
महासचिव विप्लव सीले देशलाई आत्मनिर्भर बनाउन उत्पादनमा केन्द्रित हुनुपर्ने बताए। उनले नेपाली किसानको उत्पादनले बजार नपाउने र आयातित सामग्रीले बजारको ठूलो हिस्सा लिँदासमेत राज्यलाई कुनै चिन्ता नभएको बताउदै भने- ‘एक लाख ५६ हजार मध्यम वर्गीय व्यवसायी टाट पल्टिँदै छन्। अर्थतन्त्रमा कृषिको योगदान घट्नु विडम्बना र भ्रष्टीकरण हो, सबै चोचोमोचो मिलाएर खाएका छन् । पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार गरेको कुरामा तीन दल किन बोलेका छैन ?’
यसैगरी, महासचिव विप्लव सीले प्रधानमन्त्रीले लिएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा गलत रहेको भन्दै आत्मनिर्भर उत्पादन, आत्मनिर्भर अर्थतन्त्रको नारा हुनुपर्ने बताए ।
महासचिव विप्लव सीले समाजवादी विचारधाराका शक्तिहरूबीच ध्रुवीकरण जरुरी रहेको र समाजवादप्रति अब खुल्ला बहस जरुरी रहेको बताउँदै त्यसका लागि डराउन आवश्यक नभएको बताए । उनले भने- ‘नेपालमा कस्तो समाजवाद हो ? यो बारेमा सबै दलमा खुला बहस आवश्यक छ । समाजवादमा बहस गर्न अब डराउने होइन । जनमत संग्रह गरेर भए समाजवादमा जानुपर्ने छ ।’
महासचिव विप्लव सीले देशमा लागि अब नयाँ तरिकाले सोचेर कम्युनिष्ट सिद्धान्त र विचारलाई पुनर्विचार जरुरी रहेको बताउदै भने- ‘चिनियाँ र रूसी समाजवाद नेपालमा मेल खान्न । कम्युनिस्ट दर्शनमा हेरफेर आवश्यक छ । द्वन्द्वात्मक भौतिकवादमा अपूर्ण छ । व्यावहारिक नेपाली मौलिकताको समाजवादका आवश्यक छ ।’
यसैगरी, महासचिव विप्लव सीले गणतन्त्र प्रणाली दोषी नभएको बताउँदै कार्यान्वयन गर्न नसक्नु नै यस प्रणाली बदनाम हुनुको कारण भएको बताए। उनले भने ‘चन्दा संकलन गर्न सजिलो, तर उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न चुनौती छ। उत्पादनमा आधारित अर्थनीति आवश्यक छ ।’
महासचिव विप्लव सीले राजसंस्थाको पुनर्स्थापनाबारे चर्किएको बहसप्रति संकेत गर्दै भने, ‘अब राजा आएर समस्या समाधान हुन्छ भन्ने सोच नै गलत हो। समाजवादको बहस सबै दलमा खुला हुनुपर्छ। राजावादीहरू सडकमा आउँदा किन चुप ? समाजवादीहरू पनि अब सडकमा देखा पर्नुपर्छ ।’
महासचिव विप्लव सीले समाजवादका लागि संविधान संशोधन र जनमत संग्रह गर्नेसम्मको बहस खुला हुनुपर्ने भन्दै विदेशी मोडलको समाजवादको साटो नेपाली विशेषतामा आधारित समाजवादको खाका तयार गर्नुपर्ने बताए। उनले भने- ‘रूस वा चीनको जस्तो मोडल हामीकहाँ लागू हुँदैन। हाम्रो समाज र सन्दर्भअनुसार समाजवादको नेपाली मोडल विकास गर्नुपर्छ। नेपालमै रमाएर बस्न सकिन्छ, सबै पैसा र पावरकै पछि लागेर होइन। ‘