पीडितलाई न्याय दिने र समस्या सम्बोधन गर्ने कार्यमा राज्य नै गैरजिम्मेवार !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले पीडितलाई न्याय दिने र समस्या सम्बोधन गर्ने कार्यमा राज्यले गैरजिम्मेवारपन देखाएको ठोकुवा गरेका छन् । बेपत्ता परिवार समाज नेपालद्वारा मंगलबार आयोजित बेपत्ताहरुको सार्वजनीकरणको प्रश्न बिषयक अन्तर्कृयालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले बेपत्ताहरुको बिषय राष्ट्रिय सवाल भएको उल्लेख गर्दै समस्या समाधानका लागि आयोग बन्नु राम्रो भएको भएपनि आयोग निर्माणको सुरुमै पीडित लगायत नागरिक समाज र मानव अधिकारकर्मीको प्रश्न खडा भएको बताए । उनले बेपत्ताहरुको स्थिति सार्वजनिकरण र पीडितलाई न्याय दिने बिषयमा राज्यले जालसाजी गरेको उल्लेख गर्दै बेपत्ताहरुको बारेमा आयोग बनाउने र भत्काउने जुन काम भएको छ त्यसले राज्यले नै जालसाजी गरेर आन्दोलन र पीडितविरुद्ध दुर्नियत र षड्यन्त्र राखेको प्रष्ट भएको बताए ।
महासचिव विप्लव सीले बेपतालागयतका बिषयमा पीडितको प्रतिनिधि सुनिश्चित गरेर सहमति सहितको आयोग बन्नुपर्ने भन्दै यस बिषयमा गम्भीर हुन सरकारसङ्ग आग्रह गरे । उनले भने – ‘यो १९ वर्षमा शान्ति प्रक्रियाको सवालमा यो राज्य संवेदनहीन रूपमा देखा पर्यो । माओवादीसँग सम्बन्धित मान्छेलाई मात्र परेको कुरा वा बेपत्ता योद्धाको परिवारलाई परेको पीडा मात्र होइन । एउटा निष्पक्ष र न्यायिक दृष्टिले हेर्ने न्यायवादी, मानवतावादी, मानव अधिकारवादी र सचेत नागरिक सबैलाई के परेको छ भने बरु छलफल निष्पक्ष गरे हुन्छ तर यो त टुङ्ग्याउनुपर्ने विषय हो नि । यस विषयमा राज्य किन यति धेरै लापरबाही बनेको ? किन जबाफदेहीविहीन बनेको ? अर्को तरिकाबाट भन्ने हो भने बलिदान र त्याग गर्नेहरूमाथि यति धेरै पूर्वाग्रही र हेलचेक्र्याइँ किन गरेको ? भन्ने प्रश्न आज खडा भएको छ । यो १९ वर्षले राज्य संवेदनहीन बनेको नै भन्छ । अहिले जसरी आयोगहरू बन्ने र भत्किने काम भएको छ त्यो राज्यको एकदमै षड्यन्त्रपूर्ण र जालसाजीपूर्ण कार्यको रूपमा देखिन्छ । बनाउने भत्काउने, बनाउने भत्काउने किन गरिराखेको ? कस्तो मान्छे चाहिएको हो आयोगमा ? बेपत्ताकै नाममा पैसा खर्च भइरहेको छ तर निष्कर्ष कहिले पुग्दैन । नेपालको राजनीतिमा कुनियत छ, त्यहाँ षड्यन्त्र छ भन्ने बुझिन्छ । यो विषयलाई टुङ्गोमा पुर्याउनुभन्दा त्यसमा कसै न कसैको स्वार्थ छ भन्ने देखिन्छ ।’
यसैगरी, महासचिव विप्लव सीले माओवादी आन्दोलनमा बिभाजन आउनुका विभिन्न कारण मध्ये बेपत्ता योद्धा सहिद तथा घाइते योद्धाको सवाल कसरी लिने भन्ने बिषय पनि भएको उल्लेख गर्दै आफू निरन्तर जनता र क्रान्तिको बाटोमा अगि बढ्ने प्रतिबद्ध समेत जनाए ।
यसैगरी, महासचिव विप्लव सीले माओवादी आन्दोलनलगायत समग्र राजनीति आन्दोलन नै अहिले भ्रष्टिकरण भएको उल्लेख गर्दै सुरुमा जनता र देशका ठुलठुला मुद्दा उठाउने तर सत्ता र शक्तिमा पुगेपछि गम्भीर धोकाधडी हुने गरेको ठोकुवा गरे । उनले भने- ‘अब कुनै राजनीति दलको मुल्यांकन तर्क र भाषणका आधारमा होइन श्रम, पसिना , जनता र उपलब्धिका आधारमा हुनेछ र त्यो अभियानको नेतृत्व नेकपाले गर्ने छ ।’
यसैगरी, सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई तार्किक निष्कर्षमा पुर्याउन नचाहेको बताए । उनले वर्तमान सरकार शान्ति प्रक्रियालाई हल गर्ने भन्दा पनि बल्झाउने र देशलाई द्वन्द्वतर्फ धकेल्न उद्दत रहेको बताउदै भने – ‘शान्ति प्रक्रिया हल गर्ने होइन, शान्ति प्रक्रियालाई बल्झाएर, यसलाई उचाल्दै लगेर कसरी द्वन्द्वमा लान सकिन्छ भन्ने लाइनमा छ । अहिलेको राज्यसत्ताको दृष्टिकोण त्यहाँ बढी प्रभावित छ । हेर्दाखेरी संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान नेपालीले बनाएको, संविधानसभाले बनाएको दलहरु नेपालका, नेपाली जनताले चयन गरेको । तर, सोच र चिँतन कहाँ फसेको छ त भन्दाखेरी सर्वसत्तावादी, एकाधिकारवादीहरुको अगाडि घुँडा टेकेको छ । आत्मशमरपर्ण गरेको छ । त्यसले शान्ति कायम राख्न दिँदैन । त्यही समस्या हो। ’
महासचिव गुरुङले आफूहरुले बेपत्ता भएका व्यक्तिहरुको अवस्थाबारे जान्न चाहेको बताए । उनले बेपत्ताहरुको अवस्था अहिलेसम्म थाहा हुन नसकेको भन्दै सरकार यस मामलामा जवाफदेही नभएको बताए । उनले भने- ‘बेपत्ता को हो ? भन्ने समस्या होईन । बेपत्ता कुन अवस्थामा छ भन्ने प्रश्न हो । छानविन आयोगको खोजीको मूल तत्पर्य त्यो हो भन्ने लाग्छ । खोजीको क्रममा पनि अहिलेसम्म सार्वजनिक हुन नसक्नुको कारण के हो त ? दलहरु कति जवाफदेही हुन् वा अहिलेको अवस्था, व्यवस्था कति जवाफदेही छ भन्ने हेर्नुपर्छ । यो आन्तरिक मामला हो । आन्तरिक मामला हुँदाहुँदै पनि दुई विचार र प्रवृत्ति बीचको द्वन्द्व छ। ’